बाग्लुङको कार्यक्रममा गृहमन्त्री शर्माले मोबाइलबाटै सम्बोधन गरे

Posted on: 29 Jul, 2017


साउन १४, बागलुङ । कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् ।  बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखेका हुन् । 

शनिबार दिउँसो करिब ५ मिनेट काठमाडौँबाटै अधिवेशनलाई सम्बोधन गरेका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए । 

उनले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । ‘अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसके मात्र मुलुक अघि बढ्छ’, गृहमन्त्री शर्माले भने। 

‘मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ’ मन्त्री शर्माले भने, ‘राष्ट्रिय पूँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्ने बेला आएको छ ।’

उनले आउँदो १५ वर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्ने समेत दाबी गरे ।  अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!