बबई नदी नियन्त्रण गर्न गुरुयोजना: सिँचाइ मन्त्री

Posted on: 04 Aug, 2017


साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजनामार्फत अघि बढ्ने बताउनुभयो । 

बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उहाँले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने जानकारी दिनुभयो । 

बबई सिँचाइ आयोजनाको सानोश्री, ढोढरी, वैदीलगायतका क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएका मन्त्री गौतमले बाढीको जोखिममा रहेको बर्दियामा बाढी नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

उहाँले बबई सिँचाइ आयोजनाको सबै कुरा बुझेरमात्र काम अघि बढाइने बताउँदै आयोजनाको सूक्ष्म अध्ययनपश्चात् धेरै काम गर्ने स्पष्ट पार्नुभयो । आफूले यो काम गर्छु भनेर भन्नुभन्दा पनि काम गरेर देखाउने छु, उहाँले भन्नुभयो । 

बबई सिँचाइ आयोजनाको आरम्भकाल २०४५ सालदेखि हालसम्म ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । आयोजना अवधिमा रु १२ अर्ब ६७ करोड खर्च हुने अनुमानित लागतमध्ये हाल सम्म रु ६ अर्व ३ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!