बाजुरा अरिङ्गालको टोकाइबाट १२ वर्षीया बालकको मृत्यु

Posted on: 07 Aug, 2017

साउन २३, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताउनुभयो । 

आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिनुभयो । अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा ६८ वर्षीया सुन्तलादेवी थापा र १२ वर्षीया सपनाकुमारी थापा रहेका छन् । घाइते भएका दुवै जनालाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकीमा लगिएको छ । 

अरिङ्गालले गाई–गोरु–बाख्रालाईसमेत टोकेको बताइएको छ । मृतक बालक शिवशंकर प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत गर्दै आएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!