नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौँमा सुरु

Posted on: 20 Aug, 2017


भदौ ४, काठमाडौँ | ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन शुरु भएको छ । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले देशको समग्र परिवर्तनमा पत्रकारिता जगतले अमुल्य भूमिका खेलेको भन्दै अझै बढी योगदान गर्नुपर्ने जोड दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए । 

देउवाले नेपालका मिडिया आर्थिक रुपमा कमजोर भएको भन्दै पत्रकारिताको दु:ख आफुले राम्ररी बुझेको बताए । 

उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख योगश भट्टराई, नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत र नेकपा (माओवादी) का प्रवक्ता पम्फा भुसाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न शिर्षकका पत्रकारिता पुरष्कार समेत वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघको जारी महाधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ । यस पटकदेखि दलित र मधेशी सचिव, सात प्रदेशसहित काठमाडौँ उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन हुनेछन । त्यस्तै प्रत्येक प्रदेशबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । 

देशभरका करिव १० हजार पत्रकार आवद्ध रहेका महासंघको महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधिको सहभागिता रहनेछ । 

तश्विर: प्रकाश धौलाकोटी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!