धनुषामा कांग्रेस र एमाले कार्यकर्तावीच झडप

Posted on: 17 Sep, 2017


असोज १, धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । एमालेले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा आक्रमण गरेपछि उक्त झडप भएको बताइएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गएराति करिब १२ बजे एमालेले आक्रमण गरेको थियो ।

एमालेका कार्यकर्ताहरुले मदिरा सेवन गरि घरको मूलढोका तोडफोड समेत गरेर ढुंगामुढा गरेको बताइएको छ ।

स्थानीय तह निर्वाचनमा पराजय हुने डरले एमाले कार्यकर्ताहरुले रातीको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बताउँदै आक्रमणकारीहरुले घर परिसर भित्र रहेको मोटरसाइकल र कुर्सीहरु समेत तोडफोड गरेको उम्मेदवार यादवले बताए ।

यादवका अनुसार अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

घरमा आक्रमण गर्न पुगेका उनीहरुले ढंगामुढा गरेपछि ढुंगा उछिटिएर उनीहरुका केही व्यक्ति समेत घाइते भएको उम्मेदवार यादवले बताएका छन् । एमाले कार्यकर्ताहरुले काँग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेको आरोप कांग्रेसको छ । घरमा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा तोडफोड गरेको उम्मेदवार यादवले बताए । 

एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् । 

यता उक्त घटनाबारे एमालेले भने कांग्रेस कार्यकर्ताले प्रहरीकै संरक्षणमा एमालेका कार्यकर्तालाई घर घरमा पसेर आक्रमण गरेको आरोप लगाएको छ । एमालेका जिल्ला नेता शीतल साहले एमालेलाई मतदानको दिनसम्म घर बाहिर निस्कन नदिने भन्दै टोलटोलमा आतंक मच्चाइएको बताए । एमालेले केही व्यक्तिलाई गए रातिदेखि बेपत्ता पारिएको आरोप लगाएको छ । यस बिषयमा प्रहरीले अनिउसंधान गर्ने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!