महोत्तरीको गौशाला नगरमा माओवादी केन्द्र विजयी

Posted on: 22 Sep, 2017

असोज ६, महोत्तरी । जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा (माओवादी केन्द्र) को भागमा परेका छन् । 

आज बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी हुनुभएको छ । 

शिवनाथले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामकुमारीदेवी महतोलाई पराजित गर्नुभएको हो भने आशा लामाले संघीय समाजवादी फोरमका उपप्रमुखका उम्मेदवार डा रमेश यादवलाई पराजित गर्नुभएको हो । 

प्रमुख पदमा माओवादी केन्द्रका महतोले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामकुमारीदेवीले पाँच हजार मत प्राप्त गर्नुभएको थियो । 

उपप्रमुखमा लामाले पाँच हजार ९७० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रमेशले चार हजार ६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय, गौशाला महोत्तरीले जनाएको छ । 

त्यस्तै, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवारले चार हजार ३५५, उपप्रमुखले चार हजार ६४२ र राजपा नेपालले प्रमुखमा दुई हजार ७५३ र उपप्रमुखले तीन हजार ३९५ मत प्राप्त गरेका थिए । 

त्यस्तै, गौशाला नगरपालिकाका छ वडामा नेकपा (माओवादी केन्द्र), पाँच वडामा काँग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएका छन् । 

बीस वर्षपछि चुनिएका अधिकांश जनप्रतिनिधि भने युवा नै रहेकाले अब गौशाला नगरपालिकामा विकासको लहर छाउने स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । 

सोनमामा संघीय समाजवादी विजयी 

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार राजकुमार यादवले चार हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा विमादेवी साह तीन हजार ४१९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

त्यस्तै, उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार नवलकिशोर यादवले दुई हजार ४०१ मत प्राप्त गर्नुभएको थियो भने उपप्रमुखमा पुष्पाकुमारी यादवले दुई हजार ८०१ मत प्राप्त गर्नुभएको थियो । 

निर्वाचित राजकुमार यादव भने यसअघि पनि गाविस अध्यक्षमा निर्वाचित भई काम गरिसक्नुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!