पर्साको धोनवी गापामा काँग्रेस र सखुवाप्रसौनी गापामा फोरमका उम्मेदवार विजयी

Posted on: 23 Sep, 2017

असोज ७, पर्सा । पर्साको धोवनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी हुनुभएको छ । 

आज सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा काँग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत हासिल गरी विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी दुई हजार ४६९ मत हासिल गरी विजयी भएको निर्वाचन कार्र्यालयले जनाएको छ । 

यसैबीच पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । 

मतगणनाको अन्तिम नतिजाअनुसार फोरम नेपालका अध्यक्ष पदका उम्मेदवार प्रदीप जैसवाल र उपाध्यक्षमा फोरम नेपालकै फूलमतिकुमारी थरुइन विजयी हुनुभएको छ । 

अध्यक्ष पदमा फोरम नेपालका जैसवालले तीन हजार ६५७ मत हासिल गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निरज गिरीले दुई हजार ६१४ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी उपाध्यक्षमा फोरमकी थरुइनले तीन हजार ६७२ मत हासिल गरी विजयी हनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी केदारकुमारी विश्वकर्माले दुई हजार ८५१ मत हासिल गरेको निर्वाचन कार्यालयले बताएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!