महोत्तरीका सबै तहको मतगणना सकियो, कुन दलले कति जिते ?

Posted on: 24 Sep, 2017

असोज ८, गौशाला । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । 

यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार नेकपा (माओवादी केन्द्र) चार स्थानसहित दोस्रो, नेपाली काँग्रेस तीन स्थानसहित तेस्रो भएका छन् । संघीय समाजवादी फोरम नेपालले पनि एक स्थानमा जीत हासिल गरेको छ । 

राजपाबाट जलेश्वर नगरपालिकामा रामशंकर मिश्र पाँच हजार १८०, मटिहानी नगरपालिकामा हरिप्रसाद मण्डल तीन हजार ४०३, महोत्तरी गाउँपालिकामा सुनिल राय दुई हजार ७५१, भंगहा नगरपालिकामा संजीवकुमार साह चार हजार ४७८, एकडारा गाउँपालिकामा रामछविला साह दुई हजार ३१८, पिपरा गाउँपालिकामा विनोदकुमार चौधरी दुई हजार ७७५ र मनरासिस्वा नगरपालिकामा सञ्जयकुमार सिंह चार हजार २३९ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको छ । 

त्यस्तै, माओवादी केन्द्रबाट जिल्लाको बर्दिवास नगरपालिकामा विदुरकुमार कार्की नौ हजार १८७, गौशाला नगरपालिकामा शिवनाथ महतो पाँच हजार ९४४, रामगोपालपुर नगरपालिकामा अशोक मण्डल दुई हजार ९४४ र सम्सी गाउँपालिकामा फारुक शेख दुई हजार ३४८ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यसैगरी, नेपाली काँग्रेसबाट औरही नगरपालिकामा सुनीलकुमार यादव तीन हजार १५९, बलवा नगरपालिकामा विनोद यादव तीन हजार ६१६ र लोहारपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत ल्याएर विजयी हुनुभएको छ । 

संघीय समाजवादी फोरमबाट जिल्लाको सोनमा गाउँपालिकामा राजकुमार यादव चार हजार १३२ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा एमालेले महोत्तरीमा कुनै पनि नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा जीत हासिल गर्न सकेन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!