वडा सचिवले भत्ताको चेक बोकेर सम्पर्कमै आएनन्

Posted on: 28 Sep, 2017

असोज १२, पाल्पा (रासस) | पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । 

वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब रु १७ लाखको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताउनुभयो । 

गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत सचिवले अध्यक्षको फोन उठाएनन् । असोज १० गतेसम्म अध्यक्षको फोन नउठेपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता बुझ्न नपाएको गुनासो छ । 

सामाजिक सुरक्षा भत्ता कहिले वितरण गर्ने हो भनेर वडा कार्यालयमा आउने ज्येष्ठ नागरिकलाई रित्तै फर्काउन बाध्य भएका छन् । हुमिनकी ८६ वर्षीया जमुना श्रेष्ठले दशँैअघि भत्ता बुझ्न पाएको भए केही खर्च गर्न राहत हुने बताउनुभयो । 

दशैँमा हुमिनमा सामाजिक सुरक्षा भत्ता वितरण हुने सम्भावना देखिएन । असोज ९ र १० गतेसम्म तानसेन रहेका वडासचिव कार्यालयमा हाजिर नभएपछि भत्ता वितरण गर्न नसकिएको हो । जिल्ला सदरमुकाम तानसेनदेखि वडा कार्यालय हुमिन एक डेढ घण्टामा नै पुगिन्छ । 

सरकारी मोटरसाइकलसमेत लिई सम्पर्कमा नआउँदा थप समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन् । घर गएपछि यहाँ दलित बालबालिका, ज्येष्ठ नागरिक र एकल महिलाले भत्ता पाउन नसक्दा दुखेसो पोखेका छन् । स्थानीय बालकुमारी श्रेष्ठले आँखाले राम्रोसँग देख्नु हुन्न, कानले सुन्नुहुन्न, तर दशैँमा भत्ता पाए चामल किनेर खाने बताए पनि भत्ता बुझ्न पाउनु भएन । 

रम्घा गाउपालिका–४, हुमिनमा १३० जना ज्येष्ठ नागरिक, ५७ जना एकल महिला, ५२ जना ज्येष्ठ दलित र ४५ जना दलित बालबालिका रहेको कार्यालयले जनायो । वडाध्यक्ष भोजबहादुर विश्वकर्माले असोज १० गतेसम्म सचिवले सम्पर्क नगरेको र सम्पर्कमा नआएपछि दशैँपछि भत्ता वितरण अध्यक्षको उपस्थितिमा हुने बताउनुभयो । 

चार महिनामा ज्येष्ठ नागरिकले आठ हजार, एकल महिलाले चार हजार, ज्येष्ठ दलितले चार हजार र दलित बालबालिकाले रु दुई हजार ४०० प्रतिव्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!