दोलखामा माओवादी केन्द्रले छान्यो सर्वसहमत उम्मेद्वार

Posted on: 06 Oct, 2017

ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ ।

विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्यालय सदस्य सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेतृ देवी खड्का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फकी उम्मेद्वार हुने भएकी छिन् । उनी माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज हुन । त्यसैगरी प्रदेश सभाका लागि दोलखाको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्र, दोलखाका सह इन्चार्ज विशाल खड्का र क्षेत्र नम्बर २ बाट नरबहादुर पाख्रिन प्रत्यक्षतर्फका सर्वसहमत उम्मद्वार हुनु हुने भएको छ । प्रतिनिधि सभाकी उम्मेद्वार देवी खड्का र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ का उम्मेद्वार विशाल खड्का सहोदर दिदीभाइ हुन । प्रदेशसभाको क्षेत्र नम्बर २ का उम्मेद्वार पाख्रिन केहि समयअघि राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

बैठकले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कृष्ण भुजेल, रीता रिमाल, नविन जिरेल र भिमबहादुर श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट हिमाली गोले, तेजबहादुर गोले, तक्त जिरेल, छिरिङ शेर्पा, डिएन शेर्पा र कृष्णमाया कार्की समानुपातिक उम्मेद्वार बनाउने निर्णय गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट लक्ष्मी थामी, जित मोक्तान, बर्जुराम घतानी र सोम तामाङ समानुपाति उम्मेद्वार बन्नुहुने भएको छ ।एमालेसँग चुनावी तालमेल भएमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका तीनै जना उम्मेद्वारले लचकता अपनाउने निर्णय पनि भएको सदस्य केसीले बताउनुभयो ।

आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली काङ्ग्रेस दोलखाले दर्जनौं उम्मेद्वारका आकांक्षीको नाम यसअघि नै सिफारिस गरेर केन्द्रमा पठाईसकेको छ भने एमाले दोलखाले आजसम्म टुङ्गो लगाउने तयारी रहेको पार्टी उपसचिव डबल पाण्डेले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!