नुवाकोटका ५४ मतदानस्थल अतिसंवेदनशील, कस्तो छ सुरक्षा रणनीति ?

Posted on: 09 Oct, 2017

असोज २३, नुवाकोट । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको छ ।

यसअघिको स्थानीय तहको लागि निर्धारण गरेको १२९ मतदान स्थललाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गरिएको विभाजनको आधारमा सुरक्षाको दृष्टिकोणले ५४ स्थानमा रहेका मतदानस्थल अतिसंवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

यस्तै, ५० मतदानस्थल संवेदनशील र २५ मतदानस्थल सामान्य निर्धारण गरेर सुरक्षा व्यवस्था मजबुद बनाउने तयारी शुरु गरिएको प्रजिअ बरालले बताए ।

कायम रहेका मतदान केन्द्रको वर्गीकरणको लागि नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहको गतिविधि र प्रभावित क्षेत्र, अनपेक्षित राजनीतिक प्रतिस्पर्धा हुने स्थान, भौगोलिक कठिनाइ एवं विकट बस्ती, जातीय, क्षेत्रीय, साँस्कृतिक र सम्प्रदायिक प्रभाव रहेको स्थान र यसअघिको निर्वाचनको समीक्षालगायतको मापदण्डको आधारमा मतदानस्थलको वर्गिकरण गरिएको हो ।

मतदानस्थलको वर्गिकरणको आधारमा सुरक्षा व्यवस्थाको लागि सुरक्षाकर्मीको तयारी, नेतृत्व, संख्या निर्धारण गर्ने गरी निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!