फोरम अध्यक्ष उपेन्द्र यादव सिरहाबाट सिफारिस

Posted on: 10 Oct, 2017

असोज २४, लहान । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ । 

फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभयो । सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिस गरिएको छ । 

यस्तै फोरमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष विजय यादव र शत्रुघ्न महतो कोइरी, क्षेत्र ३ बाट अशेश्वर यादव र कोइरी तथा क्षेत्र नं ४ बाट डा वीरेन्द्र महतो र शीतल महतोको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य सत्यनारायण यादवले बताउनुभयो । 

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं १ (क) बाट वैधनाथप्रसाद साह, जीतेन्द्रप्रकाश महतो र श्यामकुमार गुप्ता तथा क्षेत्र नं १ (ख) बाट राजकुमार गुप्ता, प्रयागलाल यादव र जीतेशकुमार यादवको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं २ (क) बाट डोमी साह, विनोदकुमार यादव, अजय यादव र भागवत यादव तथा २ (ख) बाट निर्मला यादव र आनन्दकुमार महतोको नाम सिफारिस गरिएको जनाइएको छ । 

क्षेत्र नं ३(क) बाट मनोजकुमार सिंह र राजकुमार सिंह तथा ३ (ख) बाट मनोरञ्जन गोइतको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र ४ (क) बाट विष्णुकुमार साह, विष्णुदेवकुमार महतो र हरेराम यादवको सिफारिस गरिएको छ । क्षेत्र ४ (ख) बाट अमरकुमार साह, विजयकुमार र दिलीपकुमार यादवको नाम सिफारिस गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । 

यसअघि आइतबार नेकपा (एमाले )सिरहा क्षेत्र नं १ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!