पूर्वप्रधानमन्त्री चन्द छोरा जयन्त सहित प्रत्यक्ष उम्मेदवार

Posted on: 12 Oct, 2017

नरी बडु । असोज २६, बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र उनका छोरा जयन्त चन्दको नाम सिफारिस गरेको छ ।

राप्रपा जिल्ला कार्यसमितिको बैठकले चन्द बाबुछोरासँगै नरेन्द्रबहादुर चन्दलाई प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए । राप्रपाको जिल्ला समितिले पूर्व वाणिज्य मन्त्री जयन्त चन्दलाई भने समानुपातिक पद्धतितर्फ पनि सिफारिस गरेको  छ । प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीबाट समानुपातिक पद्धतितर्फ उम्मेदवारको रुपमा अम्बादत्त भट्टको नाम पनि सिफारिस गरिएको जिल्ला अध्यक्ष चन्दले बताए । राप्रपाले बैतडीको दुईवटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवार भने सिफारिस गरेको छैन ।

मानुपातिक निर्वाचन पद्धतितर्फ प्रदेश सभा क्षेत्र नम्बर १ बाट रमा भण्डारी, लक्ष्मी विष्ट,  सफला अधिकारी रानाको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फ नै क्षेत्र नम्बर दुईबाट हेमबाबु लेखक, चन्द्रकला साउद र जीतसिह थापाको नाम सिफारिस गरिएको छ । यस्तै जीते महर, किष्ने भुल, नारु अवस्थी, वीरेन्द्रबहादुर चन्द र धौलसिह रानाको नाम निर्वाचन क्षेत्र विभाजन नगरी समानुपातिक पद्धतितर्फ उम्मेदवार सिफारिस गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!