फोरम लोकतान्त्रिकको क्षेत्रीय समिति माओवादी केन्द्रमा प्रवेश

Posted on: 12 Oct, 2017

असोज २६, दाङ । फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

२०७० सालको संविधानसभा चुनावका सभासद् उम्मेदवार एवं युवा संगठनका केन्द्रीय संगठन विभाग प्रमुख वीरेन्द्र चौधरीसहित फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को सम्पूर्ण समिति बिहीबार माओवादी केन्द्रमा समाहित भएको हो । चौधरीले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा चार हजार बढी मत ल्याएका थिए ।

फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष आरडी यादवको अध्यक्षता एवं चौधरीको प्रमुख आतिथ्यमा बसेको क्षेत्रीय समितिको बैठकले पार्टी जनताको चाहनाअनुसार अघि बढ्न नसकेको, स्पष्ट नीति र योजनाविना राष्ट्रिय राजनीतिमा पहल लिन नसकेको र नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रमा ध्रुवीकृत हुने निर्णय गरेको थियो ।

उत्पीडित वर्ग, क्षेत्र, लिंग र जातीय समुदायको प्रतिनिधित्व गर्ने विश्वासका साथ माओवादी केन्द्रको नीति विचारमा सहमति भएर त्यसमा ध्रुवीकृत हुने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।

बैठकले ध्रुवीकरण प्रक्रिया अगाडि बढाउन र जिल्लाका अन्य कमिटीसँग पनि ध्रुवीकरणका लागि पहल गर्न यादव संयोजक रहेको कार्यदल गठन गरेको छ । जसमा अतिउल्ला मनिहार, अनिल चौधरी, जानकी चौधरी र अयोध्याप्रसाद यादव सदस्य छन् । जिल्लाका अन्य कमिटी र व्यक्तिहरुसँग पनि ध्रुवीकरणका लागि छलफल चलिरहेकाले सबैलाई समेटेर चाँडै देउखुरीमा पार्टी ध्रुवीकरणको घोषणासभा गरिने संयोजक यादवले बताए ।

पार्टीको कमिटीले नै निर्णय गरेर ध्रुवीकरण प्रक्रियामा आउनु स्वागतयोग्य भन्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यले नेता कार्यकर्ताको उचित ब्यवस्थापन गर्ने बताए । जिल्लाका अन्य क्षेत्रमा पनि ध्रुवीकरणका लागि छलफल भइरहेकाले चाँडै संयुक्त घोषणासभा गरिने उनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!