नयाँ शक्ति वाम गठवन्धनबाट बाहिरियो

Posted on: 13 Oct, 2017

असोज २७, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । बाम गठबन्धनमा कुरा नमिलेपछि बाहिरिएको नयाँ शक्तिले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय समेत गरेको छ ।

एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै एकतामा नयाँ शक्ति पनि समाहित भएको थियो । बिशेषगरि गोरखा २ बाट माओवादीले नछाड्ने भएपछी नयाँ शक्तिले औपचारिक रुपमै गठबन्धन छाड्ने निर्णय लिएको हो ।

गोरखाबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा छन् । बैठकपछि जारी विज्ञप्तिमा गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपालले आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने  उल्लेख गरिएको छ ।

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ । त्यस्तै कैलाली ३ मा कृष्णकुमार चौधरी र कपिलवस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदार घोषणा गरेको छ ।

नयाँ शक्तिले संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता)लाई अस्वीकार गर्ने राजनीतिक पार्टी र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ ।

नयाँ शक्तिले आँखा चुनाव चिन्ह लिएर लडेपनि आफ्नो पार्टीले उम्मेदवारी दिएका ठाउँमा एमाले र माओवादीले उम्मेदवार नदिए तालमेल हुन सक्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!