बागलुङ जिल्ला ! आगामी निर्वाचनमा कसको किल्ला ? यस्तो छ स्थिति

Posted on: 23 Oct, 2017

कात्तिक ६, बागलुङ | आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तरगत बागलुङको निर्वाचनमा बामपन्थी मोर्चा र कांग्रेसका उमेदवारबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

राजनीतिक दलका तर्फबाट आइतवार मनोनयन दर्ता भएको छ । बामपन्थी मोर्चाका तर्फबाट नेकपा एमालेले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा, नेकपा माओवादी केन्द्रले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा तथा राष्ट्रिय जनमोर्चाले २ वटा प्रदेशसभामा उमेदवारी दर्ता गराएका छन् । बामपन्थीहरुको तर्फबाट बागलुङ क्षेत्र नं. १  र २ प्रतिनिधिसभा र क्षेत्र नं. २ ख प्रदेशसभामा बागी उमेदवारी पनि परेको छ ।

बागी उमेदवारहरुले मनोनयन फिर्ता हुने समय अगावै फिर्ता लिइसक्ने बामपन्थी नेताहरुले बताएका छन् । संघीय समाजवादी फोरम, राप्रपा राष्ट्रवादी लगायतका दलहरुले पनि उमेदवारी दिएका छन् । तर निर्वाचनमा खास प्रतिस्पर्धा भने बामपन्थी र कांग्रेसका उमेदवारहरुबीच नै हुनेछ  ।

बामपन्थीहरुको बाहुल्यता रहेर पनि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ३ वटै निर्वाचन क्षेत्रमा जितेको नेपाली कांग्रेसलाई यस पटक जसरी पनि किनारा लगाउने लक्ष्यका साथ ३ वटा बामपन्थी शक्तिहरु एकतावद्ध भएर निर्वाचनमा होमिएपछि नेपाली कांग्रेस आत्तिएको छ । यद्यपी तीन पार्टीबीचको मेल भित्र खेलेर निर्वाचन जित्ने भित्री मनसाय पनि कांग्रेस नेताहरुमा देखिन्छ ।

उमेदवारी दर्तासंगै चोक चोकमा उमेदवारहरुका बारेमा छलफल हुन थालेका छन् । टिकट पाएका नेताहरु र पार्टी पंक्ति उमेदवारहरुलाई कसरी विजयी गराउने भन्ने ध्याउन्नमा लागेका छन् । 

उमेदवारहरुको चर्चा परिचर्चा संगै असन्तुष्टीहरु पनि पोखिन थालेका छन् । उमेदवारको दौडमा रहेका तर टिकट नपाएकाहरुको असन्तोष त छदैछ, भुगोल बाहिरबाट उमेदवार पठाएको भन्ने गुनासो पनि जोड तोडले चल्न थालेको छ ।

एमालेको बलियो आधार क्षेत्रका रुपमा रहेको क्षेत्र नं. १ को प्रदेश क मा २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका क्रममा भएका अन्तरघातहरुको चर्चा हुन थालेको छ । उमेदवार चयनमा गरेको निर्णयप्रति सामाजिक सञ्जालहरुमा असन्तुष्टीहरु छरपष्ट भएका छन् । उमेदवारको सिफारिसमा परेका २०७० सालको निर्वाचनका उमेदवार हिराबहादुर केसीका बारेमा धेरैको टिप्पणी थियो, केसी विद्रोह गर्छन् वा निर्वाचनमा असहयोग गर्छन ? तर केसीले सामाजिक सञ्जालमा मार्फत र उमेदवारी दर्ता प्रक्रियामा सक्रिय सहभागिता जनाएर बागलुङ जिल्लालाई बामपन्थीहरुको किल्ला बनाउन आवहान गरेसंगै बजार हल्लाहरु हराउन थालेका छन् । हल्ला चलाएर आत्म सन्तुष्टी गर्ने एमाले भित्रैका र प्रोपोगण्डा बनाएर मत आकर्षण गर्ने विपक्षीहरुका चाहनामा केसीको शालिनता र पार्टी प्रतिको प्रतिवद्धताले झापड हानेको छ । एमालेबाट क्षेत्र नं. १ अन्तरगत सिफारिस भएका श्रीप्रसाद शर्माले स्थायी कमिटिले जनमतको कदर गर्न नसकेको गुनासो गर्दा गर्दै पनि बामपन्थी जिताउ अभियान सफल पार्न सामाजिक सञ्जालमार्फत सन्देश दिनुका साथै उत्साहका साथ उमेदवारी दर्तामा सहभागी भएर परिपक्क राजनीतिक सन्देश दिएका छन् । विगतमा आफु अनुकुल निर्णय भएन भनेर पार्टी हराउने कार्यमा लागेका, कार्यालय तोडफोड गर्नेदेखि विज्ञप्ती प्रकाशन गर्नेहरुलाई केसी र शर्माहरुको शालिनताले कुरी कुरी गरेको हुनु पर्छ । निर्णय सदैव आफ्नो पक्षमा आउदैन, नआउदा पनि पार्टीलाई जिताउन जिम्मेवार बनेर लाग्नु पर्छ भन्ने केसी र शर्माको आव्हानले आम एमालेजनमा उत्साह पैदा भएको देखिन्छ ।

साविकको क्षेत्र नं. ३ हालको क्षेत्र नं. २ मा सूर्य चिन्हमा मतदान गर्न नपाइने लगायतका गुनासाहरु सामाजिक सञ्जालहरु देखिन थालेका छन् । क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा ख मा त एमालेबाट सिफारिसमा परेका दधिराम शर्माले बागी उमेदवारी दिएका छन् । सो क्षेत्रका एमालेका संयोजक लगायत अगुवा नेता कार्यकर्ताले जिल्ला सदरमुकाम नजिकका नेताहरुले आफ्नो क्षेत्रलाई आफुलाई सत्ता प्राप्तीको भ¥याङ बनाएको आरोप लगाएका छन् । २ नं. क्षेत्रमा एमालेका कुनै पनि उमेदवार नहुने विषय गंभिर रहेको भन्दै उनीहरुले राजिनामा दिएका छन् । यद्यपी सो विषयमा केन्द्रीय स्तरमै छलफल चलिरहेको एमाले स्रोतले जनाएको छ ।

यस्तै एमालेको जनमत भएको काठेखोला गाउँपालिकालाई सून्य बनाएको गुनासो पनि सामाजिक सञ्जालहरुमा देखिन थालेको छ । करिब ७ हजार मत पाउने ठाउँबाट एक जना पनि उमेदवार नबन्ने अवस्थाप्रति सामाजिक सञ्जालमा दुखेसो व्यक्त भएका छन् ।

यस्तै माओवादी केन्द्रले पाएको प्रतिनिधिसभा क्षेत्र नं. २ मा भुगोलभन्दा बाहिरको उमेदवार पठाएको गुनासो देखिन्छ । क्षेत्र नंं २ प्रदेश सभा क का उमेदवारमा प्रस्तावित नेताले नै प्रतिनिधिसभाको उमेदवारप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।  

बामपन्थीहरुमा मात्रै होइन, कांग्रेसमा पनि उमेदवारी प्रति चरम असन्तुष्टीहरु देखिन थालेका छन् । कांग्रेसका पुराना नेता मणिभद्र शर्माले उमेदवारी प्रति असन्तुष्टी व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनका छोरा नरेश कंडेलले त कांग्रेसको उमेदवारीमा पैसाको खेलका कारण आफ्नो बुवा पछि परेको आरोप नै लगाएका छन् । काठेखोला गाउँपालिका ४ तंग्रामका पार्टी अध्यक्ष यामदत्त कंडेलले राजिनामा दिएका छन् । क्षेत्र नं. २ प्रदेश ख मा उमेदवार नबनाएको भन्दै क्षेत्रीय सभापति द्रोणबहादुर कुँवरले पदबाट राजिनामा दिएको र पार्टी सभापतिसंग समन्वय गरी फिर्ता लिएको समेत सार्वजनिक भएका छन् ।निर्वाचन अगाडि बढ्दै जादा जसले आन्तरिक समस्यालाई समाधान गर्दै अगाडि बढ्छ, उसैले जित हासिल गर्ने अवस्था देखिन्छ । यद्यपी बागलुङमा तिनवटै वामपन्थी दलहरु तालमेल गरेर निर्वाचनमा गएकाले जित बामपन्थीहरुकै हुनेमा बामपन्थीहरु ढुक्क देखिन्छन् । कांग्रेसका नेता कार्यकर्ताहरु पनि निर्वाचन उकालो हुने ठहरका साथ निर्वाचनमा होमिएको अनुमान गर्न थालिएको बामपन्थीहरु बताउछन् ।

बागलुङ जिल्ला क्षेत्र नं. १ मा नेपाली कांग्रेसका चम्पादेवी खड्का र नेकपा एमालेका डा.सूर्य पाठकबीच प्रतिस्पर्धा हुने भएको छ । खड्कालाई राप्रपाको समर्थन छ भने पाठकलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ । बामपन्थी र लोकतान्त्रिक मोर्चाबीच हुने प्रतिस्पर्धामा कसले बाजी मार्ला चर्चा चल्न थालेको छ । बागलुङ जिल्ला मतको हिसावले बामपन्थीहरुको बाहुल्यता रहेको जिल्ला हो तर बापन्थीहरु एक ठाउँ नहुदाँ नेपाली कांग्रेसले धेरै पटक जित हासिल गरेको छ । यसपटक बामपन्थीहरु एक भएर निर्वाचनमा गएकाले प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ वटै सिट बामपन्थीहरुले जित्ने आंकलन गरिएको छ ।

चुनावी तालमेलले बामपन्थीहरुमा उत्साह थपेको छ । गत स्थानीय तह निर्वाचनको मत हेर्दा नेपाली कांग्रेस र बामपन्थी दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । बामपन्थीहरुका मत यदि एकता र सहकार्यको भावना अनुसार नै सही ठाउँमा परे भने ६ वटै स्थानमा बामपन्थीहरु विजयी हुने निश्चित छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा एमाले, राजमो र राप्रपाको तालमेलबाट एमाले र राप्रपाले विजयी प्राप्त गरेका थिए । तीन वटा पार्टी एकतावद्ध भएर निर्वाचनमा जाँदा कांग्रेसलाई २ हजार २ सय ९४ मतले पराजित गरेका थिए । स्थानीय निर्वाचनमा एमालेलाई साथ दिएको राप्रपा यतिबेला कांग्रेससंगको मोर्चामा छ । एमाले राजमोहरुले स्थानीय तह निर्वाचनमा राप्रपाको मत १ हजार ५ सय आएको आंकलन गरेका छन् । राप्रपाले आफ्नो मत ३ हजार भन्दा बढी भएको दावी गर्दै आएको छ । माओवादी केन्द्रको उमेदवार नभएका कारण उनीहरुका मत अलमलिएका थिए । यस पटक राप्रपाको मत घटने र माओवादी केन्द्रको मत बढ्ने देखिन्छ  ।

एमाले र राजमोले जितेको काँठेखोला गाउँपालिकामा कांग्रेस बाहेक सबै दलहरु एकतावद्ध भएका थिए । राप्रपा सहितलाई सहभागी गराएका बामपन्थीहरुले काठेखोलामा स्थानीय तह निर्वाचनमा १ हजार ४ सय ७५ मतान्तरमा कांग्रेसलाई पराजित गरेका थिए ।

नेपाली कांग्रेसले प्रमुख र बामपन्थीहरुले उपप्रमुखमा विजय प्राप्त गरेका जैमिनीमा नेपाली कांग्रेसले ४ सय ६ मतले जित हासिल गरेको थियो । जैमिनीमा नेकपा माओवादी केन्द्र छुट्टै निर्वाचनमा गएको थियो र उसले ९ सय ५२ मत प्राप्त गरेको थियो । माओवादी र एमाले तथा राजमोको मत मिलाउदा जैमिनीमा कांग्रेस ५ सय ४६ मतले पछाडि छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ को अर्को स्थानीय तह बरेङ गाउँपालिकामा राजमोले अध्यक्ष र उपाध्यक्ष जित हासिल गरेको छ । त्यहा एमाले र राजमोबीच चुनावी तालमेल भएको थियो । कांग्रेस र माओवादीबीच भएको तालमेल अनुसार यो स्थानीय तहमा पनि बामपन्थीहरु ८३९ मतले अगाडि छन् ।

यसरी क्षेत्र नं. १ का ४ वटा स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतका आधारमा बामपन्थीहरुले २८ हजार २ सय ९३ र कांग्रेसले २३ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । क्षेत्र १ मा गत स्थानीय तहको निर्वाचनको नतिजा अनुसार  ५ हजार ५४ मतले बामपन्थीहरु अगाडि छन् ।

क्षेत्र नं. १ प्रदेश सभा क अन्तरगत बागलुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म बामपन्थी उमेदवारले ९ हजार ६ सय ९१ र नेपाली कांग्रेसका उमेदवारले ७ हजार ६ मत प्राप्त गरेका छन् । यस्तै काठेखोलामा बामपन्थी उमेदवारले ६ हजार ६ सय ९६ र कांग्रेस उमेदवारले ५ हजार २ सय २१ मत  प्राप्त गरेका छन् । यो प्रदेश सभा निर्वाचन क्षेत्रमा गत स्थानीय तहमा बामपन्थीहरुले १६ हजार २ सय २७ र कांग्रेसले १२ हजार २ सय २७ मत प्राप्त गरेको छ । यो क्षेत्रमा बामपन्थीहरु कांग्रेस भन्दा ४ हजार १ सय ६० मतले अगाडि रहेका छन् । यो प्रदेशसभामा बामपन्थी मोर्चाका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा र नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति दिपेन्द्रबहादुर थापाबीच प्रतिस्पर्धा हुदैछ । 

यस्तै क्षेत्र नं. १ प्रदेशसभा ख मा पनि बामपन्थीहरुको अग्रता रहेको छ । बामपन्थीहरुले जैमिनी, बरेङ र बानपाका १२, १३ र १४ नं. वडामा ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले सो क्षेत्रमा १० हजार ९ सय १२ मत प्राप्त गरेको छ । यस क्षेत्रमा बामपन्थीहरु ९ सय ९४ मतले अगाडि देखिन्छन् । यो क्षेत्रमा बामपन्थी मोर्चाका साझा उमेदवारका रुपमा राष्ट्रिय जनमोर्चा बागलुङका पूर्व अध्यक्ष कृष्ण थापा र नेपाली कांग्रेसका तर्फबाट नितर्वमान सांसद प्रकाश शर्मा पौडेलबीच प्रतिस्पर्धा हुदैछ । यो प्रदेशमा अलि बढी प्रतिस्पर्धा हुने स्थानीय तहको निर्वाचनको परिणामले देखाउछ ।

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा बामपन्थीहरुका लागि बागलुङ क्षेत्र नं. १ र यो क्षेत्र अन्तरगतका दुइवटै प्रदेश सजिलै जित्ने आधारका रुपमा देखिन्छ । बामपन्थीहरुबीचको एकताले स्वतन्त्र खालका मत अझै थप हुने विश्वास बामपन्थीहरुले गरेका छन् । तर नेपाली कांग्रेसका जिल्ला नेताहरु भने स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक व्यवस्थापनमा समस्या भएका कारण मत कमी आएको दावी गर्छन्, बामपन्थीहरुबीच एकता हुदाँ मत बढ्ने मात्रै होइन, कतिपय ठाउँमा घट्ने उनीहरुको आंकलन छ । त्यति मात्रै होइन, बागलुङ नगरपालिकामा राप्रपाका अध्यक्ष सुरेन्द्र खड्काका कारण एमालेले जितेको र यो चुनावमा खड्काको साथ कांग्रेसलाई हुने भएकाले जित कांग्रेसको हुने उनीहरुको दावी छ । कांग्रेस र राप्रपा मिलेर लड्दा बामपन्थीहरुलाई सहजै पराजित गर्न सकिने आंकलन उनीहरुको छ ।

बामपन्थीहरुले सिंगो जिल्लामा एक जना पनि महिला उमेदवार प्रत्यासी नबनाएको, प्रत्यक्षतर्फ बागलुङ नगरपालिकावासी, विगतमा निर्वाचन जितेर राज्यमन्त्री समेत बनाएको चम्पादेवीलाई उमेदवार बनाएकाले स्वभाविक रुपमा मत बढ्ने उनीहरुको दावी छ ।

बागलुङ क्षेत्र नं. २ मा रहेका ६ वटा स्थानीय तह मध्ये ३ वटामा बामपन्थी र ३ वटामा कांग्रेसले जित हासिल गरेका छन् । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा नेकपा एमाले तथा ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेका छन् । गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका कांग्रेसले जितेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसले पहिलो संविधानसभाको निर्वाचनमा विजयी नरबहादुर थापा निरजलाई उमेदवार बनाएको छ । बामपन्थीहरुको तर्फबाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल उमेदवारका रुपमा रहेका छन् । उनको उमेदवारी पछि पार्टीभित्र केही असन्तुष्टीहरु देखिएका छन् । यद्यपी छिटै ति समस्याहरु समाधान हुने माओवादी केन्द्रले बताएको छ

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्र नं. २ मा बामपन्थीहरुले २६ हजार ५ सय ४० मत प्राप्त गरेका छन् । त्यहा नेपाली कांग्रेसले १८ हजार ३४ मत प्राप्त गरेको छ । यसरी हेर्दा गत निर्वाचनमा बामपन्थीहरु भन्दा कांग्रेस ८ हजार ५ सय ६ मतले पछाडि रहेको छ ।

क्षेत्र नं.२ को प्रदेश सभा क मा पनि बामपन्थीहरुकै अग्रता छ । बामपन्थीहरुले सो क्षेत्रमा १५ हजार ८ सय ८ मत प्राप्त गरेका छन् । कांग्रेसको प्रदेश सभा अन्तरगतका स्थानीय तहमा ११ हजार १ सय मत प्राप्त भएको छ । यसरी हेर्दा यो प्रदेशमा पनि ४ हजार ७ सय मतको अन्तरमा बामपन्थीहरु अग्रस्थानमा रहेका छन् ।

त्यस्तै क्षेत्र नं. २ प्रदेशसभा ख मा पनि बामपन्थीहरुकै अग्रता रहेको छ । बामपन्थीहरुले १० हजार ७ सय ३२ मत पाएका छन् भने कांग्रेसले ६ हजार ९ सय ३४ मत प्राप्त गरेको छ । यस क्षेत्रमा पनि बामपन्थीहरु ३ हजार ७ सय ९८ मतले अगाडि छन् ।

बागलुङमा २०४६ सालको परिवर्तन पछि कांग्रेस अग्रस्थानमा रहदै आएको छ । बहुदलीय व्यवस्था पुनस्थापना पछि ३ निर्वाचन क्षेत्र रहेको बागलुङमा कांग्रेसले २०४८ मा तीन वटै क्षेत्रमा जित हात पारेको थियो । २०५१, २०५६ र २०६४ मा एक एक सिट जितेको कांग्रेसले २०७० मा भने ३ वटै क्षेत्र जितेको थियो ।

२०५१ र २०६४ मा क्षेत्र नंं. १ मा विजय प्राप्त गरेको एमालेले ३ वटा निर्वाचनमा एउटा पनि सिट जित्न सकेको थिएन । २०५१  र २०६४ मा एक एक क्षेत्र जितेको राजमोले २०५६ मा २ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो ।बामपन्थीहरुले २०५१ मा २ सिट, २०५६ मा २ सिट र २०६४ मा २ सिट जितेका थिए । यस पटक उनीहरुले संघीय संरचना अनुसार बनेका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका सबै सिटमा कब्जा जमाउने उदघोष गरेका छन् । कांग्रेसले बामपन्थीहरुलाई जुधाएर जिल्ला कब्जा गर्दै आएको भन्दै यस पटक बामपन्थीहरु एकतावद्ध भएका छन् ।

बामपन्थीहरु एकता भइरहदाँ कांग्रेसमा निराशा देखिए पनि उनीहरुबीचमा खेलेर निर्वाचन जित्ने दाउ कांग्रेसमा देखिन्छ । कांग्रेसमा उमेदवारीमा चर्को विवाद देखिएकाले पनि बामपन्थीहरु उत्साहित देखिन्छन् ।

पछिल्ला निर्वाचनहरुमा पैसाको चलखेल बढी हुने गरेको छ । गाउँघरमा रहेका विभिन्न समुहहरुले सामुहिक रुपमा चन्दा माग गर्नेदेखि निर्वाचनलाई कमाउ धन्दा बनाउने कतिपय नेता तथा कार्यकर्ताहरुका कारण पनि पैसाको चलखेलले प्रश्रय पाएको छ । सत्ताको प्रयोग हुने अवस्था पनि निर्वाचनमा रहन्छ ।

बामपन्थी शक्तिहरुले आफुहरुले पाएको मतलाई संरक्षण गर्न सक्दा नै जित सुनिश्चित छ । यद्यपी विगतमा तालमेल गरेका कतिपय निर्वाचनमा बढी महत्वकांक्षा, काम नगर्ने रिपोटिङ धेरै मत आउने गर्ने, जनताका बीचमा नजाने, नेताका वरिपरी बसेर वातावरण राम्रो भएको दावी गर्ने आदि इत्यादी कारण निर्वाचनमा हार व्यहोरेका घटनाहरु पनि छन् । निर्वाचनका सबै आधारहरुलाई व्यवस्थित गर्न सके यस पटक बागलुङको निर्वाचनमा बामपन्थीको जित सुनिश्चित छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!