उदयपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Posted on: 26 Oct, 2017

अजयकुमार साह | कात्तिक ९, उदयपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज विहिबार उदयपुरमा समेत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय एक साथ आज विहिबार स्थापना गर्ने कार्यतालिका रहेको छ । उदयपुरमा समेत समन्वय समितिको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आयोजित कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला मुख्य न्यायाधिश तेजेन्द्र प्रसाद शर्माले निर्वाचनलाई परिवर्तन व्यवस्थापनको संज्ञा दिदै यसलाई प्रयोगमा ल्याउन र सफल तुल्याउन सम्पूर्ण सरोकारवालाहरुको सहयोग र समन्वय आवश्यक रहेको बताए । 


प्रमुख निर्वाचन अधिकृत शर्माले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आज कार्यालय स्थापना भईसकेको हुँदा आजै देखि कामाकाज तदारुकता साथ अगाडी बढ्ने जानकारी गराए । उनले कार्यालयमा आजै पदभार सम्हालेकाछन् । 

जिल्लामा दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रहरु कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं. १ अन्तर्गत दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र तोकिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं.२ अन्तर्गत समेत दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र तोकिएको छ । 

निर्वाचन क्षेत्र नं. १ का लागि जिल्ला न्यायधिश शर्मालाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ भने क्षेत्र नं.२ का लागि सर्वोच्च अदालतबाट निर्वाचन प्रयोजनका लागि खटिएका उपसचिव शन्देश श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । 

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष खडग बहादुर परियारले जिल्लामा स्थानिय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको उदाहरण दिदै सोही प्रकारले सवै पक्षको समन्वयलाई ध्यानमा राखेर आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।  

समेत दोस्रो चरणको चुनाव मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । त्यसका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ भने पहिलो चरणको चुनाव मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । सो चुनावका लागि मनोनयन दर्ता गरी उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भईसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर कार्कीले बताए ।

जिल्लामा २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा जम्मा मतदाता १ लाख ७१ हजार ४ सय ६१ रहेको थियो । अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खडकाले जानकारी गराए । 

तश्विरमा: उदयपुर समन्वय समिति परिसरमा विहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तस्विरः अजयकुमार साह(साझा सवाल), उदयपुर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!