काभ्रेमा वाम उम्मेदवारको टुंगो नलाग्नुको कारण यस्तो पो रहेछ !

Posted on: 27 Oct, 2017

कात्तिक १०, बनेपा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । 

नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्रै गरेको छ । 

प्रदेशसभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीकातर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको छ । प्रदेशसभाका लागि कसैको नाम पनि टुंगो लागेको छैन, नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर वाइवाले भन्नुभयो । 

उहाँले आज बस्ने जिल्लाको पदाधिकारी तहको बैठकले पनि केही निर्णय गर्ने उल्लेख गर्दै केन्द्रबाट कार्यदलको निर्णय पनि आउने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष दिनानाथ गौतमले नेकपा (एमाले) सँगको सहकार्यका लागि निर्वाचन क्षेत्र नं १ टुंगो लागे पनि उम्मेदवार टुंगो नलागेको बताउनुभयो । 

उहाँले त्यस क्षेत्रका लागि कमानसिंह लामा, सूर्यमान दोङ, रुकु चौलागार्इं, रेणुका चौलागार्इंको नाम केन्द्रमा सिफारिश भएको बताउनुभयो । 

“सर्वसम्मत नभएपछि सिफारिश गरेर केन्द्रमा पठाएका छौँ”– उहाँले भन्नुभयो । उता नेपाली काँग्रेसले जिल्लाको क्षेत्र नं १ मा तीर्थ लामा र २ नं क्षेत्रमा पार्टी सभापति मधु आचार्यको नाम टुंगो लगाएको छ, तर प्रदेशसभामा कुनैपनि उम्मेदवारको टुंगो लागेको छैन । 

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशसभाका लागि क्षेत्र नं १ को (क) बाट सिवी लामा र २ को (ख) बाट कञ्चनचन्द्र वादेको नाम टुंगो लगाएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चारजना निर्वाचित हुनेछन् । काभ्रेपलाञ्चोकमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!