अध्यक्ष यादवविरुद्ध राजपा नेताद्वारा वागी उम्मेदवारी

Posted on: 01 Nov, 2017

कात्तिक १५, राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन् । 

सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको हो । 

राजविराजमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै पार्टीको सहमहामन्त्रीलगायत साधारण सदस्यसमेत परित्याग गरेको बताउनुभयो । 

यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएर पराजित हुनुभएका ठाकुर पछिल्ला मधेश आन्दोलनमा निकै सक्रिय रहनुभएको थियो । 

उहाँ आफूलाई प्रतिनिधिसभाको टिकट दिइने भन्दै चुनावको तयारीमा जुट्नुभएको थियो । तर ठाकुर आकांक्षी रहेको निर्वाचन क्षेत्रमा राजपाले संघीय फोरम नेपाललाई दिएपछि ठाकुरले गठबन्धनले गरेको बाँडफाँड बाहिर आएलगत्तै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । 

त्यस्तै, गत शनिबारदेखि टिकटका लागि राजविराजमा आमरण अनशनमा बस्नुभएका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत प्रदेशसभाका लागि मंगलबारै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको राजपाका सहमहामन्त्री ठाकुरले राससलाई जानकारी दिनुभयो । 

निष्ठावान र सक्रिय कार्यकर्तालाई पाखा लगाई पार्टीले टिकट वितरणमा भेदभाव गरी नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकट वितरण गरेको भन्दै शुरु गरेको अनशन यादवले मंगलबारदेखि स्थगित गर्नुभएको छ । 

अनशन स्थगित गरेपछि क्षेत्र नम्बर २ (ख) बाट उहाँले प्रदेशसभामा आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभयो । क्षेत्र नम्बर २ को (ख) बाट राजपाका महासचिव मनिष सुमनको उम्मेदवारी परेको राजपाबाट बुझिएको छ । 

यता बागी उम्मेदवारी दिएकालाई पुनः पार्टीमा फर्काउने प्रयास भइरहेको राजपा नेता गजेन्द्र मण्डलले बताउनुभयो । 

भागबण्डा नमिल्दा एमालेमा आमरण अनशन 

यसैबीच, वाम गठबन्धनले सप्तरीको दुई÷दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् । 

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकसहितले अनशन थालेका छन् । 

राजविराजस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सर्वसम्मतरुपले सिफारिस पठाएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनुपर्ने माग गरेका छन् । 

एमाले केन्द्रीय सदस्य प्याकुरेल क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहनुभएको थियो । तर यो क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रका अशोककुमार मण्डल (अमर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । एमालेका युवा नेताले भने प्याकुरेललाई यस क्षेत्रमा नदिइएकाले बाध्य भएर आफूहरु भोक हडतालमा बस्नुपरेको बताएका छन् । 

राजविराजस्थित एमालेको पार्टी कार्यालयमा भोक हडताल बसेका उनीहरुले प्याकुरेललाई टिकट नदिएसम्म अनसन बसिरहने बताए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!