अछाममा बाम गठबन्ध र कांग्रेसबिच प्रतिस्पर्धा हुँदै

Posted on: 02 Nov, 2017

कमल रावल/कात्तिक १६, अछाम । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि अछाममा उम्मेदवारको टुंगो लागेको छ । 

मुख्य प्रतिस्पर्धीहरु नेपाली कांग्रेस र वामगठबन्धनले अछामका २ वटा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएका हुन् । क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट एमालेका भीम रावल र नेपाली कांग्रेसका भरतकुमार स्वारबीच प्रतिस्पर्धा हुने भएको छ । रावल कांग्रेसका स्वारको लागि ‘हेवी वेट’ उम्मेदवार हुन् । 

एमालेका केन्द्रीय उपाध्यक्ष रावलसँग प्रतिस्पर्धा गर्न लागेका स्वार नेपाली कांग्रेस अछामका सभापति तथा पूर्व जिल्ला विकास समितिका सभापति हुन् । यस्तै अछाम क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट पुष्पबहादुर शाह र वाम गठबन्धनबाट एमालेकै यज्ञबहादुर बोगटीले टिकट पाएका छन् ।

 शाह नेपाली कांग्रेस अछामका पूर्व सभापति हुन् भने बोगटी एमालेका वर्तमान जिल्ला सचिव हुन् । प्रदेशतर्फ क्षेत्र नम्बर १ को (क) मा नेपाली कांग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ । खड्का दोश्रो संविधानसभा निर्वाचनमा भीम रावलसँग निकटम प्रतिस्पर्धी भएर चुनाव हारेका थिए । सोही क्षेत्रको (ख) मा गठबन्धनबाट माओवादी केन्द्रबाट झपट बोहरा र कांग्रेसबाट टेकबहादुर साउँद आमुनेसामुने हुँदैछन् । 

बोहरा बैंकर हुन् भने साउँद कांग्रेस जिल्ला पूर्व सचिव हुन् । यस्तै क्षेत्र नम्बर २ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल र नेपाली कांग्रेसबाट सुरतबहादुर विष्टले टिकट पाएका छन् ।

 रावल केन्द्रीय आयोजक समिति सदस्य हुन भने विष्ट रिटायर्ड शिक्षक हुन् । सोही क्षेत्रको (ख) प्रदेशमा नेपाली कांग्रेसबाट बलबहादुर कुँवर र एमालेबाट बलबहादुर सोडारीले टिकट पाएका छन् । 

कुँवर दोश्रो संविधानसभा निर्वाचनमा एमालेका भरत साउँदसँग निकटतम प्रतिद्धन्दी भएर पराजित भएका थिए भने सोडारी एमाले जिल्ला सचिवालय सदस्य हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!