जुम्लाका ४१ मतदान स्थल अति संवेदनशील

Posted on: 05 Nov, 2017

नन्दराम जैशी | कात्तिक १९, जुम्ला | आसन्‍न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति संवेदनशील स्थलको रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ७६ ओटा मतदान स्थल मध्ये ४१ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । 

सुरक्षा चुनौतिको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको बर्गिकरण गरेको सहायक प्रहरी निरिक्षक तारावहादुर रेउलेले बताए । ११ वटा मतदान केन्द्रलाई सामान्य र १४ ओटा मतदान केन्द्रलाई संवेदनशिल मतदान स्थलको रुपमा वर्गीकरण गरिएको छ । जिल्लामा ७६ मतदान स्थल अन्र्तगत ९० वटा मतदान केन्द्र तोकिएको छ । ’सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सुचनाको आधारमा हामीले ति मतदान स्थललाई अतिसंवेदनशील स्थलको रुपमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ’

स्थानिय प्रशासनले जुम्लामा खास गरी नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीबाट सुरक्षा चुनौति महसुस गरेको छ । सुरक्षा निकायले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धी चुनावी भएकोले आ आफ्ना नेतृत्वलाई जिताउनका लागि नेता कार्यकर्ता, युवाहरुलाई परिचालन गर्दा दुई पक्ष बीच दोहरो झडप हुने खतरा पनि देखिएको छ । 

सुरक्षा निकायले मतदान स्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । अतिसंवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने ब्यवस्था छ । जसमा तीन घेरामा सुरक्षा कर्मी परिचालन गरिनेछ । 

पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा शसस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती ब्यवस्था मिलाईरएको स्थानिय प्रशासनले जनाएको छ । जुम्ला भौगोलिक रुपमा विकट रहेकाले मतदान स्थलमा यातायात र संचारको सहज पहँुच पुग्न नसकेका कारण धेरैजसो मतदान स्थललाई संवेदनशील मतदान स्थलका रुपमा राखिएको छ । 

जिल्लामा यस पटक तीन स्थानमा मतदान केन्द्र थप गरिएका छन् । एक हजार ६४ मतदाता वरावर एक मतदानन केन्द्र तोकिने निर्वाचन आयोगको नियम अनुसार जिल्लामा यो पटक तीन वटा मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले बताउनुभयो । 

निर्वाचन कार्यालयका अनुसार निर्वाचन सफल वनाउनका लागि मतदाता शिक्षा, निर्वाचन र सन्चार तालिम जनशक्ति व्यवस्थापन लगायतका गतिविधिहरु तिव्र गतिमा सञ्‍चालन भइरहेका छन् । मंसिरमा हुने निर्वाचनका लागि जुम्लाका ५९ हजार ५८ मतदाताले आफनो मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि ३ दलका ३ जना उम्मेदवार र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रका लागि ६ दलका १० जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!