समुन्नत राष्ट्र निर्माणको अभियानमा गठबन्धन: नेम्वाङ

Posted on: 09 Nov, 2017

कात्तिक २३, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँच वर्षसम्म स्थिर सरकार बनाउन र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा बहुमत दिन आग्रह गर्नुभएको छ । 

इलाम क्षेत्र नं २ अन्तर्गत आज बिहान चमैताको बाघखोरमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त क्षेत्रको उम्मेदवार रहनुभएका उहाँले संविधानले सुनिश्चित गरेको जनताका अधिकारलाई अब वाम गठबन्धनले कार्यान्वयनमा ल्याउने बताउनुभयो । 

समुन्नत राष्ट्रको परिकल्पनाका लागि पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउनुपर्नेमा जोड दिँदै पूर्व सभामुख नेम्वाङले मुलुकको दिगो विकास र समृद्धिका लागि गठबन्धनको घोषणापत्रमा उल्लेख भएबमोजिम नै अघि बढ्ने विचार व्यक्त गर्नुभयो । 

विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै नेम्वाङले भन्नुभयो, “क्षेत्र नं २ का जनताको समृद्धि र विकास चाहेको छु, तपाईंहरू निर्वाचित गर्नुस् म विकास गरेरै छाड्छु ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!