डडेल्धुरामा चुनावी अभियान तीव्र

Posted on: 13 Nov, 2017

कत्तिक २७, डडेल्धुरा । डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ । 

जिल्लामा नेपाली काँग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन् ।  काँग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ ।

 वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ । उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न अनुरोध गरिरहेका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ काँग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खगराज भट्ट आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आउनुभएको छ । 

प्रदेशसभा ‘क’ मा काँग्रेसबाट रघुवर भट्ट र (ख) मा कर्ण मल्ल उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमाले पठानसिंह बोहरा र ‘ख’ मा एमालेकै डा तारा जोशी उम्मेदवार रहनुभएको छ । 

“अबको लडाइँ गरिबी, बेरोजगारी, अशिक्षा र विकासका लागि नै हो,” प्रदेशसभा ‘क’ का काँग्रेस उम्मेदवार भट्टले भन्नुभयो । विसं २००७ देखि हालसम्म देशलाई सही दिशामा ल्याउने हरेक आन्दोलनको अगुवाइ काँग्रेसले गरेकाले आफ्नो पार्टीलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । 

जिल्लाको बेराजगारी र विकास निर्माणको कामलाई अगाडि बढाउने योजनासहित प्रचारप्रसार थालेको वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार डा जाशीले बताउनुभयो ।  

“जिल्लाको समृद्धि वाम गठबन्धनका उम्मेदवार जिताए मात्र सम्भव छ,” उहाँले भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!