काँग्रेसको प्रचारमा गएका राप्रपाका नेताको भिरबाट लडेर मृत्यु

Posted on: 14 Nov, 2017

कात्तिक २८, खोटाङ । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । 

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो । 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार काँग्रेसको टोलीसँग गाउँमा भोट माग्न जानुभएको थियो । गाउँमा भोट मागेर राति घर फर्किएका उहाँको स्थानीय साल्लेभिरबाट लडेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 

घरबाट बिहान सबेरै हिँडेका उहाँ रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । 

मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

भिरबाट करिब २० मिटर तल मृतावस्थामा भेटिएका उहाँ लामो समयदेखि राप्रपाका क्रियाशील कार्यकर्ता रहेको जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!