रोल्पाली जनताले अझै लोकतन्त्रको प्रत्याभूति गर्न पाएनन्: पुन

Posted on: 14 Nov, 2017

कविता उपाध्याय/कात्तिक २८, रोल्पा । “दशवर्षे सशस्त्र युद्धका बेला रोल्पामा जुन खालको धङधङी थियो त्यो अझै घटेको छैन । रोल्पाली जनताले अझै लोकतन्त्रको प्रत्याभूति गर्न पाएका छैनन्” सिंचाइ राज्य मन्त्री अमरसिंह पुनले भन्नुभयो ।

उहाँका अनुसार “आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रचार प्रसारका लागि रोल्पाका दुरदराजमा बाम गठबन्धद्वारा आयोजना गरिएका विभिन्न चुनावी सभा समारोहमा स्थानीयबासीहरु जानै पर्ने भन्दै नेकपा माओबादी केन्द्रले ह्वीप जारी गरेको छ । कार्यक्रममा नजानेलाई रु. ५ सयदेखि १ हजार सम्म जरिवना हुन्छ” स्थानीय बासीलाई उद्दृत गर्दै पुनले भन्नुभयो । 

उहाँका अनुसार स्थानीय निर्वाचनमा रोल्पाली जनतालाई हसियाँ हतौडामा भोट नहाल्ने जनतालाई सीसी क्यामेराले फोटो खिचेको हुन्छ भन्दै डर, धम्कीका आडमा भोट हाल्न लगाउने काम भयो, कतिलाई आर्थिक प्रलोभनमा पारियो भने रोल्पाका विभिन्न मतदान केन्द्रमा बुथ क्याप्चर समेतगरी एकलौटी नतिजा हात पर्यो । प्रतिनिधि सभा तथा प्रदेश सभामापनि उक्त ब्यवहार दोहोरिन थालेको उहाँको आरोप छ । 

“अब त्यो सपना नदेखे हुन्छ” उहाँले माओबादी केन्द्र तर्फ इंगित गर्दै भन्नुभयो । जनताले जुन राजनीतिक दललाई चाहन्छन् त्यसैलाई रोज्न पाउनु पर्छ यसमा कसैले हस्तक्षेप गर्नुहुन्न । 

पुनका अनुसार रोल्पामा युद्धका बेला तत्कालिन नेकपा माओबादीलाई बन्दूकको दम्भ थियो तर अहिले बन्दूक रोकिएको छ तर द्वन्द्वको धङधङी अझै हटेको छैन । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा आएपनि जनताले त्यसको प्रत्यक्ष अनूभुति गर्न पाएका छैनन् उहाँले भन्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!