कम्युनिष्टहरुले पनि मलाई नै भोट गर्छन्ः कांग्रेस उम्मेदवार अमात्य

Posted on: 15 Nov, 2017


गोपिकृष्ण चापागाईं । काठमाडौं । ललितपुरका कांग्रेस उम्मेदवार (क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा) मदनबहादुर अमात्य यतिखेर जनतासमक्ष आफ्ना योजना सुनाउँदै भोट माग्नमा ब्यस्त छन् । बिशेषतः चुनावको बेलामा भोट माग्दै हिड्ने बानी आफुमा खासै नभएको बताउने अमात्यले जनतासामु आफ्ना योजना र ललितपुरलाई कसरी बिकास गर्न सकिन्छ त्यसको बारेमा कार्यकर्ताहरुलाई सक्रिए बनाउन तिर लागेका छन् । चुनाव नजिकिँदै गर्दा अन्य नेताहरुलाई जस्तो मन ढुकढुक नभएको र जित आफ्नो हुनेमा ढुक्क रहेको उनी बताउछन् । अहिलेको चुनावमा अमात्य २०६४ सालमा त्यसै क्षेत्रबाट चुनाव जितेकी माओवादी नेतृ पम्फा भुसालसँग चुनावी प्रतिस्पर्धामा छन् । एमालेको समर्थनमा पम्फा भुसाल उठेपनि सहजै हराउन सक्ने उनको भनाई छ ।  

१५ बर्षको उमेर देखीनै एकैठाउँबाट राजनिति गर्दै आएको र बिगतको दिनमा आफुले गरेको कामको मुल्यांकन गर्दै जनताले आफुलाई भोट दिनेमा विश्वस्त रहेको बताउने अमात्यले आफ्नो पार्टी भन्दा बाहिरका अर्थात कम्युनिष्टहरुले पनि आफुलाई नै भोट हाल्ने बताएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित अमात्य दोस्रो पटक पनि निर्वाचीत हुनेमा शंकै नभएको बताउँछन् । यसैबिच हामीले उनै अमात्यसँग चुनाव बिशेष कुराकानी गरेका छौं । चुनाव अघि र चुनाव पछिका योजना केके छन् अमात्यले हाम्रा प्रश्नमा यसरी उत्तर दिन्छन् ।

जनताको घरघरमा भोट माग्न कत्तिको हिड्नु भएको छ ? 

जनतालाई मलाई भोट दिनुस भन्दै माग्दै हिडेर हुँदैन । जनताहरु धेरै सजग भइसकेका छन् । जुन नेताले बिगतका दिनमा काम गरेर देखाएका छन् तिनै नेतालाई जनताले भोट हाल्नेछन् । त्यसैले चुनावको मुखमा मात्र हात जोड्दै हिड्नुपर्छ भन्ने छैन । मेरा बिगतका कामहरु जनताले राम्रो सँग देखेका छन् र भोट आउनेमा पुरा विश्वास छ । 

विश्वास भन्दैमा भोट नै नमागि बस्नु भएको त छैन होला ? 

अब मैले भोट आउँछ भनेर घरमै बसेर हुँदैन । म भोट माग्ने भनेर दैनिक जनताको ढोकाढोकामा हात जोड्दै हिडेको छैन । किनकी अहिले पनि यो ललितपुर जिल्लालाई कसरी विकास गर्ने भनेर सम्बन्धित निकायहरुसँग परापर्श गरिरहेको छ । जनताहरुलाई प्रत्यक्ष भेटेर उनीहरुको समस्या बुझिरहेको छ । भोट त मागेको छु तर अन्यले जस्तो निकै नै आत्तिएर कुदिरहनु जरुरी छैन । 

जनताले चुनावको मुखमा भोट मागेकालाई भन्दा काम गरेर देखाएका लाई भोट हाल्छन् भन्नुभयो तपाईले बिगतमा ललितपुरलाई केके दिनुभयो ?  

मैले सांसद हुदा पनि ललितपुरको विकासमा धेरै काम गरेँ । जिल्लाको संस्कृतिक सम्पदाको संरक्षण र भत्किएका सम्पदाको जिर्णोद्धार गरेको छु । एउटा सांसदले मात्र सबैथोक गर्न सक्छ भन्ने हुँदैन तर पनि मैले यहाँको कला संस्कृति सम्पदाको संरक्षणमा धेरै काम गरेँ । मैले लोप हुन लागेका बाजागाजाको संरक्षण गरेँ । गाउँ गाउँमा मन्दिर बनाएँ । गुठीको भवनहरु बनाएँ ।


अबको चुनाव जित्नु भयो भने पहिलो योजना के छ ? 

अब चुनाव पछिको मेरो योजना भनेको सर्वप्रथम ललितपुरबासीलाई पानीको समस्याबाट मुक्त गराउनु हो । मैले यो भन्दा अघि धेरै कुरा गर्न सफल भएँ तर अहिलेसम्म पानीको समस्या हटाउन सकेको छैन । अब तत्काल मेरो पहिलो काम पानीमै हुन्छ । अहिले पानीको लागी मात्र ६ करोड रुपैंया छुट्टाइएको छ र त्यसको लागी काम अगाडि बढिसकेको छ । 

कति प्रतिशत जनताको भोट आँफु समक्ष आउँछ जस्तो लाग्छ ? 

म यो कुरामा ढुक्क छु कि म पुरै ५० प्रतिशत भन्दा बढी भोट आएर बिजयी हुनेछु । ललितपुर महानगरपालीकाका जनताले म माथि पुर्ण विश्वास राखेका छन् र मलाई पनि पुर्ण विश्वास छ कि जनताले ढुक्क भएर भोट दिनेछन् ।

तपाईको प्रतिस्पर्धिले पनि त योजनाहरु ल्याउनु भएको होला, भोट माग्नेक्रममा आश्वासन देखाउनु भएको छ होला धेरै भोट त्यता पनि त जान सक्ला ? 

उहाँले ल्याएका योजनाहरु राम्रा होलान् त्यो मैले मान्छु तर बिगतलाई पल्टाएर हेर्नेहो भने कसले राम्रो काम गरेको छ त्यो जनताले देखेका छन् । भन्ने र गर्ने मा धेरै फरक हुन्छ । म ललितपुरबासीको साना साना कुरालाई पनि जान्दछु उहाँ त अस्ती भर्खर बसाईसरेर ललितपुर आउनु भएको हो । अहिले पनि कतिले मलाई भन्छन् उहाँलाई भेट्नु प¥यो भने कहाँ जाने ? हिजो अर्को ठाउँमा हुनुहुन्थ्यो आज यहाँ हुनुहुन्छ भोली अर्को ठाउँमा पनि त जानसक्नुहुन्छ । तर मेरो घर पहिला जहाँ थियो अहिले पनि त्यहि छ र सधैं त्यहि हुनेछ । जनताले सिधै आएर भेट्न सक्छन् । त्यसैले सबैभन्दा ठुलो कुरा कामले विश्वास दिलाउन सक्नुपर्छ । 

पैसा हुनेले मात्र राजनिति गर्न सक्छ भन्छन् नि, तपाईले पैसा कत्तिको खर्च गर्नुभएको छ ?

यो भन्दा अघि हाम्रो महानगरपालिकाको मेहरले कति पैसा खर्च गरेर मेहर बने, त्यो कसैलाई थाहा छ ? जम्मा ७ लाख रुपैंयामात्र खर्च भएको थियो त्यो पनि अत्यावश्यक कुराहरुमा । कुनै कुराहरु यस्ता हुन्छन् कि जहाँ खर्च गर्नुपर्ने हुन्छ । म पनि यो कुरामा पछाडि छु । पैसाले भोट आउछ भन्नेमा छँदैछैन । मेरो एउटामात्र कुरा हुन्छ जनतालाई विश्वास, जनताको मनमा विश्वास दिलाउनु सक्नुपर्छ न कि पैसा खनाएर भोटको अपेक्षा ।

बाम गठबन्धनको भोट पनि आफुलाई आउँछ भन्नुहुन्छ नि, कसरी ? 

मलाई ललितपुरका कम्युनिष्टहरुले धेरै पटक भनेका छन् ‘तपाईको काम साँच्चै नै ललितपुरका लागी सम्मान योग्य छ, हामीले पनि तपाईलाई नै भोट हाल्छौं ।’ मैले बिगतमा गरेका कामहरुलाई सम्झिएर कांग्रेसलाई समर्थन गर्ने र कम्युनिष्टमा समर्थन गर्ने सबैले मलाई भोट गर्नुहुनेछ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!