कमल थापालाई मुख सम्हालेर बोल्न सुझाव

Posted on: 17 Nov, 2017

मंसिर १, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापालाई मुख सम्हालेर बोल्न सुझाव दिनुभएको छ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ गेजुवा कम्पनीसँग गरेको सम्झौता खारेज गरेकोमा आपत्ति जनाउनेहरुलाई थापाले स्वार्थमा धक्का परेकाहरुले विरोध गरेको भन्नुभएको थियो ।

कमल थापाको त्यो भनाइप्रति आपत्ति जनाउँदै ओलीले आफूहरुले कसैको स्वार्थमा लागेर काम नगर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले कसको स्वार्थमा परेर काम गर्छ जनतालाई प्रष्ट छ ।’

अहिलेको सरकार काम चलाउ मात्र नभई चरम काम चलाउ भइसकेको भन्दै ओलीले यस्तो सरकारले अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्ने अधिकार नभएको बताउनुभयो । सरकारले चिकित्सा शिक्षा सम्बन्धीको अध्यादेश पारित गरेकोमा पनि ओलीले असन्तुष्टि जनाउनुभयो । 

मेडिकल शिक्षा सुधारको माग गरि अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको आलोचना गर्दै ओलीले सरकारले उहाँसँग गरेका सम्झौताप्रति पनि आपत्ति जनाउनुभयो । 

‘सरकारले आफ्नै कर्मचारीसँग सम्झौता गर्ने र सरकारकै तलब खाने कर्मचारीले राष्ट्रपतिलाई चुनौति दिने हो भने राजनीतिमा आउनु पर्छ’ ओलीले भन्नुभयो ‘बरमझियामा पेडा पसल खोलेजस्तो गरेर असली नयाँ शक्ति खोले पनि हुन्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!