दोलखा–२ चुनावले हल्लियो ! दुई चौलागाँईमा को बलियो ?

Posted on: 22 Nov, 2017

ताराबहादुर महत । मंसिर ६, दोलखा । यहि मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी चरम उत्कर्षमा पुगेको छ । हरेक दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । यसै क्रममा प्रदेश सभा दोलखा क्षेत्र नम्बर २ मा सबैको ध्यान केन्द्रित भएको छ । आगामी प्रदेश सरकारको मुख्य मन्त्रीका प्रत्यासी समेत रहनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौँलागाँई उम्मेद्वार भएकोले सबैको ध्यान यस क्षेत्रमा केन्द्रित भएको हो । उहाँसँग प्रतिस्पर्धामा दोलखाका काङ्ग्रेस नेता केशवराज चौँलागाँई हुनुहुन्छ । संयोग वश मुख्य प्रतिस्पर्धि दुवै उम्मेद्वार चौँलागाँई बन्धु हुनुहुन्छ । आसन्न निर्वाचनमा दुवैले जित्ने दाबी गरीरहँदा हामीले उहाँहरुको राजनितिक पृष्ठभुमिको बारेमा कुराकानी गरेर छोटो सामाग्री तयार पारेका छौं ।


पशुपति चौँलागाँई

राष्ट्रिय राजनितिलाई नजिकबाट नियाली रहनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सांसद पशुपति चौँलागाँई प्रदेश सभा क्षेत्र नम्बर २ दोलखाका उम्मेद्वार हुनुहुन्छ । वि.स.२०२० साल फागुन ५ गते दोलखाको तत्कालिन काब्रे गाविसमा सामान्य परिवारमा जन्मनुभएका चौँलागाँईले झण्डै चार दशक लामो राजनितिक यात्राबाट कुशल नेतृत्वकर्ताको छवि बनाई सक्नुभएको छ । उहाँले २०३७ सालमा पार्टीको संगठित सदस्य बनेर जिल्ला कमिटी सदस्यको रुपमा काम गर्नुभएको थियो ।

नेता चौँलागाँईले पार्टीमा एमालेको जिल्ला कमिटी सचिव, अञ्चल कमिटी सदस्य, बाग्मती अञ्चल कमिटी सचिव, बाग्मती अञ्चल इन्चार्ज लगायतको भुमिका निर्वाह गरिसक्नु भएको छ । आफ्नो विद्यार्थी जीवनमा विभिन्न क्याम्पसमा स्ववीयु सभापति र युवा संघ नेपालको केन्द्रिय अध्यक्षको भुमिका समेत निर्वाह गरीसक्नु भएका चौँलागाँई २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विजयी भई संविधानसभा सदस्य तथा व्यवस्थापिका संसदमा सदस्यको भुमिका समेत निर्वाह गरीसक्नु भएको छ । उहाँले संविधानसभा सदस्य भएको बखत संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सदस्य भई नयाँ संविधान निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

पार्टी र राष्ट्रिय राजनितिमा विभिन्न भुमिका मार्फत आफ्नो कार्यकुशलता देखाई सक्नु भएका नेता चौँलागाँई ३ नम्बर प्रदेशको मुख्य मन्त्रीका प्रत्यासी समेत हुनुहुन्छ । पार्टी बरियतामा पार्वत गुरुङ भन्दा धेरै अगाडि रहेका चौँलागाँईले आगामी प्रदेश सरकारको नेतृत्व गर्ने सक्ने मनाशयले प्रदेश सभाको उम्मेद्वार बनाईएको बुझिएको छ । एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङलाई भने दोलखाबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाईएको छ ।

पद लोलुपताबाट टाढै रहन रुचाउने चौँलागाँईले राजनितिमा आफ्नो स्वच्छ छवि बनाएकै कारणले प्रदेश सभा दोलखा क्षेत्र नम्बर १ स्थायी ठेगाना भएका उहाँलाई क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनाईएको छ । राष्ट्रिय राजनितिमा राम्रो पहुँच भएको नेता क्षेत्र नम्बर २ को उम्मेद्वारको रुपमा पाएकोमा क्षेत्र नम्बर २ का मतदाताहरु उत्साहित देखिएका छन । अझ चौँलागाँई ३ नम्बर प्रदेशका मुख्य मन्त्रीको प्रत्यासी भएका कारण पनि उहाँलाई मतदान गर्न मतदाताहरु आतुर रहेको बताउँछन । नेकपा माओवादी केन्द्रसँग भएको चुनावी गठबन्धनका कारण प्रदेश सभा दोलखाको एउटा क्षेत्र माओवादी  केन्द्रको भागमा परेपछि उहाँ क्षेत्र नम्बर २ को उम्मेद्वार बन्नु भएको हो । उहाँको राजनितिक उचाई, सामान्य जीवनशैली, कुशल नेतृत्व क्षमता र समृद्ध समाजको स्पष्ट खाकासहितको दृष्टिकोण भएका चौँलागाँई आफू दुई तिहाई मत ल्याएर विजयी हुने दाबी गर्नुहुन्छ ।


केशबराज चौँलागाँई

पशुपति चौँलागाँईका मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट दोलखा प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्वार हुनुहन्छ, काङ्ग्रेस नेता केशवराज चौँलागाँई । उहाँको जन्म वि.स २०२५ साल फागुन २६ गते दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुमा भएको हो । सामान्य किसान परिवारमा जन्मिनुभएका चौँलागाँई १९ बर्षको किशोरावस्थादेखि विद्यार्थी जीवनबाट राजनितिक क्षेत्रमा होमिनु भएको हो । २०४४ ताका दोलखाकै सबैभन्दा पुरानो गौरीशंकर क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति भएर राजनितिक क्षेत्रमा प्रवेश गरेका चौँलागाँईको मनमा केहि बर्ष बामपन्थी विचारधाराको विकास हुँदै थियो । त्यतिबेला माक्स र लेनिनका विचार र साहित्य अध्ययन गर्दै विचारलाई मजबुत बनाउने काम गरिरहनुभएको थियो ।

नेपाली काङ्ग्रेस समर्थक आफ्नै गुरु रामजीवन सिंह र काङ्ग्रेस नेता भिमबहादुर तामाङले नै उहाँलाई काङ्ग्रेसमा प्रवेश गराउनु भएको हो । २०४६ मा देशमा बहुदल आएपछि काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, दोलखाको संयोजकको जिम्मेवारी उहाँले पाउनुभएको थियो । शिक्षण पेशामा संलग्न नेता चौालागाँई २०५३ सालदेखि जागिरे जीवन छोडेर काङ्ग्रेसको पुर्णकालिन राजनितिमा लाग्नुभएको हो । पुर्णकालिन राजनितिमा लागेपछि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ दोलखाको सभापति हुने अवसर समेत पाउनुभएको थियो । उहाँ २०५८ मा पार्टी विभाजित हुँदा काङ्ग्रेस प्रजातान्त्रिक दोलखाको सचिव र त्यसपछि २०६२ मा पार्टी एकिकरण भएपछि नेपाली काङ्ग्रेस दोलखाको निर्वाचित सचिव हुँदै हाल महासमिति सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

यसपालिको चुनाव जितेमा आफूले विकास गर्ने नभई विकास गर्ने स्थानिय तहहरुलाई श्रोत साधनले सम्पन्न बनाउने र जनताको स्वाभिमानको रक्षा गर्ने सोच लिएर अगाडी बढीरहेको उहाँको भनाई छ । अरु दलका उम्मेद्वारले समाजलाई समृद्ध बनाउने बताएको भन्दै आफू भने जनताको जीवन समृद्ध बनाउन लागेको बताउनुभयो । प्रतिस्पर्धिहरुलाई पटकपटक जनताले परिक्षण गरिसकेको र उनीहरुसँग राजनितिक एजेण्डा नभएकोले आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको उहाँको दाबी छ ।

अघिल्ला निर्वाचनको मत विश्लेषण

२०४८ देखि २०७० को संविधान सभा निर्वाचनसम्मको मत परिणाम हेर्दा दोलखाका दुवै क्षेत्रमा अधिकांश समय एमालेले विजय हाँसिल गरेको छ । क्षेत्र नम्बर २ मा २०६४ को संविधानसभा निर्वाचमा तत्कालिन माओवादी पार्टीले जिते बाहेक अन्य सबै निर्वाचनमा नेकपा एमालेले विजयी हाँसिल गर्दै आएको छ । यसैगरी गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा क्षेत्र नम्बर २ का  ४ वटा स्थानिय तहमध्ये विगु गाउँपालिका बाहेकका सबै स्थानिय तहमा एमाले विजयी भएको थियो । जसमध्ये एमाले एक्लैले १८ हजार १ सय ९६ मत ल्याएको थियो भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले १८ हजार ७ सय २१ मत प्राप्त गरेको थियो । एक्लैले बहुमत ल्याएको एमालेमा माओवादी केन्द्र पनि मिलेर संयुक्त बाम गठबन्धन बनेकोले पनि प्रदेश सभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेद्वार पशुपति चौँलागाँईले जित्ने सबैले आँकलन गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!