नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती

Posted on: 23 Nov, 2017

मङ्सिर ७, बाँके । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् । 

शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो । 

सीमापारिबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार बाँकेको सीमामा संयुक्त गस्ती गरेका छन् । 

सीमामा हुने विभिन्न आपराधिक गतिविधि र चुनावमा नकारात्मक असर पार्न सक्ने उच्छृंखल तत्वमाथि निगरानी बढाउन संयुक्त गस्ती गरिएको हो । सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रशाराम केसी र भारतस्थित मुन्सीपूर्वा एसएसबी क्याम्पका इञ्चार्ज अरबिन्द कुमारको नेतृत्वमा सात÷सात जना गरी २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले बताउनुभयो । 

बुधबार पहिलो चरणमा सीमास्तम्भ नम्बर २६÷१ देखि २७÷१५ सम्म गस्ती गरिएको र यसलाई निरन्तरता दिइने भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!