दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

Posted on: 25 Nov, 2017

मङ्सिर ९, बाँके । मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ । बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो । 

प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् । 

संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने सुरक्षा तयारी पूरा भएका छन् । 

वैधानिक हतियार संकलन 

बाँके जिल्लामा वैधानिक हतियार पूर्णरुपमा संकलन भइसकेको छ । 

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लाभित्र नागरिकसँग लाइसेन्ससहित ५४८ वटा हतियार रहेका छन् । निर्वाचन शान्तिपूर्ण र मर्यादित बनाउनका लागि हतियार संकलन गरिएको हो । 

सो क्रममा प्रहरीले २९० वटा हतियार संकलन गरेको जनाएको छ । प्रशासनका अनुसार कूल हतियारमध्ये १३६ वटा सशस्त्र द्वन्द्वमा लुटिएको र १०० वटा बाहिरी जिल्लामा सरेको छ । सम्पूर्ण विवरणमध्ये २२ वटा हतियारको अवस्था अझै अपुष्ट रहेको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!