धादिङ्ग मैदीका वडाध्यक्षद्वारा रुख चिन्हमा भोट नदिए पानीसमेत खान नदिने धम्की

Posted on: 25 Nov, 2017

मंसिर ९, धादिङ | आइतवार धादिङ सहित ३२ जिल्लामा निर्वाचन हुँदैछ । निर्वाचनमा आ-आफ्नो पक्षमा मतदान दिन बिभिन्न तरिका अपनाउने क्रममा ज्वालामुखी गाउँपालिका –२, का वडाध्यक्ष रणबहादुर शाहीले मैदीको काफलपानीका दलित परिवारलाई रुख चिन्हमा भोट नहाले पानीसमेत खान नदिने धम्की दिएका छन् ।

निर्वाचनको मौन अवधिमा दलित बस्तीमा पुगेर भोलि हुने निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत नदिए पानी समेत नदिने धम्कि दिएका हुन् । यस घटनाको बिभिन्न मिडियाले कभरेज दिएका छन् । धम्कि पाउनेहरुमा ५७ वर्षका पदम बहादुर बिक, ६४ वर्षका टेकमान विक, ७२ वर्षका जगतमान बिक रहेका छन् । मैदीको दियम खोलाको पानी आफ्नो भएकोले खाने पानी रोक्ने उनीहरुले धम्कि दिएपछी उनीहरुले संचारमध्यममा आफ्नो दुखेसो पोखेका हुन् ।

आरोपीहरुका अनुसार ज्वालामुखी गाउँपालिका –२ का वडा अध्यक्ष शाहीले काफलपानीमा एक दलित वस्तीमा चुरोट खान दिँदै यस्तो धम्की दिएका हुन् । शुक्रबार साँझ झण्डै ७ बजे काफलपानीका पदमबहादुर बिक घरसल्लाह गरिरहँदा वडाध्यक्ष शाही एक सहयोगीसहित उनको घरमा प्रवेश गरे । शाहीले औपचारिक कुराकानी सुरु नगर्दै पदमबहादुरकी श्रीमती दिलमायाको हातमा चुरोट राखिदिएर आफू आउनुको कारण सुनाउँदै भोट मागेका थिए । उनले भोट माग्ने क्रममा सिधै आफ्नो पावर देखाई - अहिले वडामा सबै काम गर्ने मै हुँ भन्दै राहत दिने बेलामा सबै काम मैले गरेको छु भनेर मतदातालाई प्रभावित पार्न खोजेका थिए । सोहि क्रममा साहीले कांग्रेसलाई मत दिनुपर्ने भन्दै रुखमा मतदान नगरे पानी समेत नदिने धम्कि दिएका हुन् । 

मतदातालाई धम्क्याउने साही कांग्रेस धादिङका पूर्व गाउँ सभापति समेत हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!