नुवाकोटमा १ सय १५ वर्षीया वृद्धाबाट मतदान

Posted on: 26 Nov, 2017

मङ्सिर १०, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गर्नुभएको छ । 

ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिनुभयो । 

विसं १९५९ साल चैत १० गते जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताउनुभयो । 

यस्तै सूर्यगढी गाउँपलिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि आज भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी हुनुभयो । नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मत दिनुभएको मतदान अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!