सर्लाहीबाट उठेका माओवादी उम्मेदवार रायको उमेदवारी खारेज, यस्तो छ कारण

Posted on: 27 Nov, 2017

मङ्सिर ११, सर्लाही । निर्वाचन आयोगले सर्लाही क्षेत्र न -४ का माओवादी केन्द्रका उमेदवार शिवपुजन रायको उमेदवारी(रद्ध ) खारिज गरेको छ । उनी बिरुद्ध आयोगमा उजुरी परेको थियो ।

पहिलो संविधान सभामा सदस्य रहनुभएका राय आफुले पाएको रातो(कुटनैतिक)राहदानीको दुरुपयोग गरेको अभियोगमा विषेश अदालतबाट सजाय पाएको ब्यक्ति हुनुहुन्छ । 

उनी बिरुद्ध सोही निर्वाचन क्षेत्रका स्वतन्त्र उमेदवार गणेश कुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिल कुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए ।आयोगले राय उपर परेको निवेदन प्रति निर्णय गर्न ढिलाइ गरेपछि उजुरीकर्ताहरु ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्चले आयोग सँग त्यस विषयमा जवाफ मागेपछि आयोगले जवाफ पठाउनु अगावै रायको उमेदवारी खारिज गरेको छ।आयोगले प्रतिनिधि सभाको ऐन अनुसार रायको उमेदवारी खारिज गरेको र सो को जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उमेदवार रायलाई  जानकारी गराउने निर्णय गरेको छ । 


विषेश अदालतले २०७२ साउन २६ गते कुटनितिक राहदानी सच्याएर हेरफेर गरेर अनाधिकृत मानिसलाई विदेश पठाएर भ्रष्टाचार गरेको फौजदारी अभियोगमा रायलाई ४ महिनाको कैद र १५ हजार नगद जरिवानाको फैसला सुनाएको थियो। 

पहिलो सम्विधान सभाको निर्वाचनमा तत्कालीन सर्लाही निर्वाचन क्षेत्र न-६ बाट संघिय समाजवादी फोरम बाट निर्वाचित हुनुभएको राय दोस्रो सम्विधान सभाको चुनावमा तराई मधेस सदभावना पार्टी बाट उमेदवार भइ पराजित हुनुभएको थियो ।अहिले उहाँ क्षेत्र न-४ बाट माओवादी केन्द्रको उमेदवार बन्नुभएको थियो ।

रायको उमेदवारी खारिज भए सँगै उनको मुख्य प्रतिस्पर्धीको रुपमा रहेका नेपाली काँग्रेसका अमरेश कुमार सिंह र राजपा नेपालका राकेश मिश्र बिच कडा टक्कर चल्ने राजनीतिक विश्लेषकहरुले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!