नवलपरासी २ मा ३ पूर्वराज्यमन्त्रीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

Posted on: 29 Nov, 2017

मंसिर १३, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिउका छन््। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् ।

दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता देवकरणप्रसाद कलवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सो क्षेत्रबाट विसं २०७० भन्दा अगावै भएका निर्वाचनमा त्रिपाठी र २०७० सालको निर्वाचनमा कलवार विजयी भएका थिए । विगतका निर्वाचनमा पनि यो क्षेत्रमा त्रिपाठी र कलवारबीच नै द्विपक्षीय प्रतिस्पर्धा हुने गरेको थियो । यस पटकको निर्वाचनमा पनि त्रिपाठी र कलवारबीच नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको छ । सो निर्वाचन क्षेत्रमा एक लाख दुई लाख ३७६ मतदाता छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्र्धामा हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, वाम गठबन्धनबाट पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव र पूर्वशिक्षा राज्यमन्त्री एवम् राजपाका नेता गोविन्द चौधरी चुनावी प्रतिस्पर्धीमा छन्।

सो क्षेत्रमा कँडेल र यादवबीच नै कडा प्रतिस्पर्धा रहेको देखिन्छ । कँडेलले ०५१ र ०५६ सालको निर्वाचनमा यस क्षेत्रबाट विजयी हुनुभएको थियो भने रुपन्देही घर भए पनि यादव सोही क्षेत्रमा राजनीतिमा सक्रिय हुनुहुन्छ । चौधरी पनि यस क्षेत्रमा राजनीतिमा क्रियाशील भएका उम्मेदवार हुन् ।

यस क्षेत्रमा कुल एक लाख पाँच हजार ८६९ मतदाता छन् । यतिखेर उम्मेदवारहरु मतदातालाई रिझाउन विभिन्न भेला, सभा, सम्मेलन, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएका छन् । नवलपरासी पश्चिम क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्र छन् । दुबै निर्वाचन क्षेत्र गरी कुल दुई लाख आठ हजार २३७ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता विक्रम खनाल र वाम गठबन्धतबाट नेकपा एमालेका नेता दीपेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धीका रुपमा छन् । खनाल २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो भने अधिकारी सो निर्वाचनमा उहाँको निकटतम प्रतिद्वन्दीको रुपमा थिए ।

यसैगरी प्रदेशसभा सदस्य ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नेता मुकुल आचार्य र वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका नेता अजय शाहीबीच मुख्य प्रतिस्पर्धी रहेका छन् ।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा सदस्य ‘क’ मा वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी र लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता गुणनिधि तिवारीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । चौधरी ०७० सालमा सोही क्षेत्रबाट विजयी भएका थिए भने तिवारी पार्टीका पूर्वक्षेत्रीय सभापति एवम् वर्तमान उद्योग वाणिज्य महासंघ ५ नं प्रदेशका संयोजकसमेत छन् । अघिल्लो निर्वाचनमा चौधरी र तिवारी सोही क्षेत्रमा प्रतिस्पर्धीका रुपमा थिए ।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता वैजनाथ जयसवाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कनौया राजभर मुख्य प्रतिस्पर्धीका रुपमा छन् । जयसवाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र राजभर पनि व्यापारी नै हुन ।

नवलपरासीमा पश्चिम जिल्लामा कुल १२० मतदानस्थल र २५७ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये दुई मतदानस्थल अति संवेदनशील र २६ मतदानस्थल संवेदनशीलरुपमा रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । पुरुषोत्तम सुवेदी/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!