तेस्रो पटक भिड्दै थापा र दाहाल, खतिवडा र उपाध्याय, कसले बाजी मार्ला ?

Posted on: 29 Nov, 2017

मङ्सिर १३, मकवानपुर । चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका छन् । 

विसं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा संगै ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल यसपटक पनि निर्वाचन प्रतिस्पर्धामा संगै हुनुहुन्छ । दुबै निर्वाचनमा दाहालले थापालाई पराजित गर्दै मकवानपुरबाट सांसद बन्नुभएको एमाले मकवानपुरले जनाएको छ । 

दाहालले मकवानपुरको विकासमा गरेको महत्वपूर्ण योगदानका फलस्वरुप आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै यसपटक जितेर गएपछि आफूले पक्की पुलदेखि द्रुतमार्गसम्मका योजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेता थापाले आफूले जितेर गएमा प्रधानमन्त्रीसम्म बन्ने हैसियत भएकाले आफूलाई मत दिन मतदातासँग अनुरोध गर्नुभयो । लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने बताउँदै उहाँले लोकतन्त्र र हिन्दू धर्मरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो । 

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक गठबन्धनबाट महालक्ष्मी उपाध्याय (डिना) र वाम गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार बन्नुभएको छ । यसअघिको संसदीय निर्वाचन २०५१ र २०५६ मा दुबै जना पनि एक अर्काको प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो । 

दुईवटै निर्वाचनमा खतिवडा विजयी भएका थिए । उपाध्यायले दुई पटकसम्म खतिवडाले आफूलाई जितेको भए पनि यसपटक भने जित्नेपालो आफ्नो रहेको बताउनुभयो । 

नेपाली काँग्रेस मकवानपुरमा आएको पार्टी प्रवेशको लहरले आफू जित्ने दाबी उहाँको छ । उपाध्यायको प्रतिद्वन्द्वीका रुपमा रहनुभएका खतिवडाले मकवानपुर जिल्ला कम्युनिष्टको लालकिल्ला रहेको र थाहा दर्शनका प्रतिपादक रुपचन्द्र विष्टको जन्मभूमी रहेकाले पनि यहाँ वाम गठबन्धनको हार नहुने बताउनुभयो । 

सन् २०६२/६३ को जनआन्दोलनपछिको २०७४ सालको संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र माओवादीले जितेको थियो भने संविधानसभा दोस्रो निर्वाचनमा तीन क्षेत्र एमाले र एउटामा नेपाली काँग्रेसले विजयी भएका थिए । अञ्जली थापा/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!