कालिकोटका विद्यालयमा मोवाइल प्रतिबन्ध

Posted on: 02 Dec, 2017

मंसिर १६, कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाले विद्यालय हातामा मोवाइल, धुम्रपान, मदिरा तथा जुवातास खेल्न नपाईने निर्णय गरेको छ । शनिबार गाउँपालिकामा बसेको शिक्षा विभागको बैठकले गाउँपालिकाको शैक्षिक विकासका लागि विद्यालय हातामा नबने धुम्रपान, मदिरापान सेवन तथा बिक्रि बितरण र जुवातास खेल्न र खेलाउन प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

बैठकले विद्यालय समयमा विद्यार्थीहरुका लागी मोवाइलसमेत प्रतिबन्ध लगाएको नरहरीनाथ गाउँपालिका प्रवक्ता तथा शिक्षा विभाग प्रमूख गगन फडेराले बताए । ‘विद्यालय आसपासका पसलहरुमा धुम्रपान र मदिरा बिक्रि तथा जुवातास खेल्न र खेलाउन पाइने छैन’ फडेराले भने, ‘विद्यालय समयमा विद्यार्थीले मोवाइल पनि प्रयोग गर्न पाउने छैनन् ।’ 

 गाउँपालिकाको निर्णय अटेर गर्ने शिक्षक विद्यार्थी र अन्य व्यपारी कार्वाही गरिने उनले बताए । नरहरीनाथमा शैक्षिक गुणस्तर बढाउन तथा विद्यार्थीहरुलाई विद्यालयमा नियमित गराउन गाउँपालिकाले विद्यार्थी पाउँदै आएको खाजा भत्ता अनिवार्य दिनु पर्ने तथा अन्यत्र प्रयोग गर्न नपाउने निर्णय समेत गरेको छ । 

यस अघि कतिपय विद्यालयले विद्यार्थीको खाजा रकम कटाएर शिक्षकलाई तलव खुवाउने तथा भौतिक पूर्वाधार निर्माणसमेत खर्च गर्ने गरेका थिए । गाउँपालिकाले विद्यार्थी बसाई व्यवस्थापन तथा विद्यालय मर्ज गर्ने र शिक्षक सरुवामा पनि कडाइ गर्ने भएको छ ।

गाउँपालिकामा रहेका विद्यालयहरुको भौतिक निर्माणमा प्रधानाध्यापकको सहभागिता शुन्य गरी विद्यालय व्यवस्थापन समितिले सम्पूर्ण जिम्मेवारी लिनु पर्ने र शिक्षक विद्यार्थीको हाजिरीमा कडाइ गर्ने निर्णय गरेको प्रवक्ता फडेराले बताए । 

‘हामीले हाम्रो गाएँपालिकाके शैक्षिक सुधारका लागि आवश्यक नीतहरु तय गरेका छौ’ उनले भने, ‘यसको प्रभावकारी कार्यान्वयनले यहाँको शैक्षिक बिकासमा मद्यत पु¥याउने छ ।’

शनिबार गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टको प्रमूख आतिथ्यतामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष  मनशोभा बुढा, स्रोत व्यक्ति राप्रसाद भुषाल लगायतले गाउँपालिकाको शैक्षिक सुधारका लागि सबैको सहयोग आवश्यक भएको बताएका छन् । 

शिक्षा विभाग प्रमूख गगन फडेराको अध्यक्षतामा भएको बैठकमा गाउँपालिकाका ५२ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!