पुर्ब माओवादी कमान्डर र पुर्व राजदुतबीच प्रतिष्पर्धा

Posted on: 03 Dec, 2017

युवराज पाण्डे | मंसिर १७, कपिलवस्तु | (रासस) | कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहनुभएका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । 

उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव लड्न जिल्ला आउनुभएको हो । खनाल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । 

फरक फरक पृष्ठभूमिका दुबै विसं २०७० को संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार बलराम अधिकारीसँग पराजित हुनुभएको थियो । निर्वाचनका विषयमा जोड घटाउ भइरहँदा उहाँहरुको उम्मेदवारीले नै यहाँको चुनावी माहोल तताएको छ । 

विकास निर्माणकै मुद्दालाई प्रमुख चुनावी एजेण्डा बनाउनुभएका उहाँहरुले बाटोघाटो, पुलपुलेसा, खानेपानी, पर्यटन, शिक्षा र स्वास्थ्यलाई नै दोहोर्याइआएका छन् । 

उम्मेदवार उठाएका अधिकांश राजनीतिक दलले उठाएका विषयसँग मिल्दोजुल्दो माग यहाँका मतदाताको पनि छ । 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका अल्ताफ अहमद खानले आफ्नो क्षेत्रमा बाटो, खानेपानी र शिक्षाको समस्या समाधान भए जीवनस्तर माथि उठ्ने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो – “विद्यालय नभएका कारण अहिले पनि हाम्रा बच्चा मदरसा शिक्षाको भरमा छन् ।” 

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (क) का एमालेका उम्मेदवार विष्णु पन्थीले कृषिको आधुनिकीकरण र पर्यटन प्रर्वद्धन गरेर समृद्ध कपिलवस्तु बनाउन सकिने तर्क गर्दै सडकको स्तरोन्नति र कालोपत्र गर्ने काम प्रमुख एजेन्डा भएको बताउनुभयो । 

कतिपय स्थानमा पुलपुलेसाको निर्माण आवश्यक भएको ठान्नुहुने उहाँ जनताको जीवनस्तर उकास्न उद्योग खोल्न प्रोत्साहन दिई रोजगारी सिर्जना गरिने बताउनुहुन्छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ का सङघीय समाजवादी फोरम नेपालका उम्मेदवार अब्दुल रसिद खाँ अहिले पनि अस्पताल नभएका कारण दुर्गम क्षेत्रमा महिलाले बच्चा जन्माउन नसकेर मृत्यु हुने अवस्था विद्यमान रहेको र कतिपय स्थथानमा दश जोड दुईका क्याम्पस पनि नभएको तितो यथार्थ सुनाउनुहुन्छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार दीप कुमार उपाध्यायले पूर्वाधार विकास, सिँचाइ र आर्थिक तथा सामाजिक रुपान्तरण यहाँको चुनावी मुद्दा भएको बताउनुभयो । 

जिल्लाको दक्षिण भेगमा अहिले पनि चेतनाको कमी रहेकाले आर्थिक तथा सामाजिक रुपान्तरण चुनौतीको विषय भएको उहाँ स्वीकार्नुहुन्छ । 

राप्ती नदीको पानी लिफ्टिङ गरेर सिँचाई गर्ने परियोजनामार्फत जिल्लाको धेरै हेक्टर क्षेत्रफलमा सिंचाई गर्न सकिने उहाँ बताउनुहुन्छ । 

छवटा नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता रहेका छन् । तीमध्ये पुरुष १ लाख ६९ हजार ४६४ र महिला १ लाख ४२ हजार २९४ छन् भने तेस्रो लिङ्गी २ जना रहेका छन् । यहाँ २५ हजार २१२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ । यसअघि भएको संविधानसभाको निर्वाचनमा मतदाताको सङख्या २ लाख ३८ हजार ८५७ मात्रै थियो । 

तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल मतदान केन्द्र ४१० र मतदानस्थल २३३ तोकिएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २ हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा गरी कूल ९६ वडा छन् । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राजपा लगायत १९ वटा दल र स्वतन्त्र गरेर प्रतिनिधिसभामा ५६ जना र प्रदेशसभामा १३० जनाले उम्मेदवारी दिएका छन् । 

कपिलवस्तुका निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जिल्लामा निर्वाचनका लागि कूल ३ हजार २७९ कर्मचारी परिचालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार विगतका निर्वाचन भन्दा यसपटक निर्वाचन आचार संहिता उल्लंघनका घटना कमै भएका छन् । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले १५३ मतदानस्थल अति संवेदनशील, ६५ स्थल संवेदनशील र १५ मतदानस्थल सामान्य ठानेर वर्गीकरण गरेको जानकारी दिँदै भारतसँग जोडिएको नाकालाई सोमबार १२ बजेदेखि नै बन्द गरिने बताउनुभयो । 

उहाँले नाकाबाट हुनसक्ने आपराधिक गतिविधिलाई निगरानीमा राखिएको र भारतीय पक्षसँग सूचना आदानप्रदान पनि भइरहेको बताउनुभयो । निर्वाचनका लागि यस जिल्लामा कूल पाँच हजार ३३७ सुरक्षाकर्मी परिचालन भएका छन् । यस जिल्लाको दक्षिणी भेगमा मधेसी समुदायको बाहुल्यता छ भने उत्तरी भेगमा पहाडी समुदायको बाहुल्यता छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!