दुनियाकै लज्जास्पद चुनावी प्रयोजन गुल्मीमाः मन्दिर भित्र मदिराको गोदाम

Posted on: 04 Dec, 2017

प्रेम सुनार | मङ्सिर १८, गुल्मी | चुनावको मुखमा आईपुग्दा गुल्मीमा लज्जास्पद घटना घटेको छ ।  चुनावी  प्रयोजनका लागि गुल्मी दरवार गाउँपालिका अन्तरगतको पुर्खे भन्ने स्थानमा जानेवाटो नजिकै उदिन डाँडाको शिवालय मन्दिर भित्र दुई वोरा मदिरा लुकाएर राखेको अवस्थामा क्षेत्र नम्वर १ को चुनावी प्रचारमा हिडेका वामगठबन्धनका कार्यकर्ताहरुले वरामद गरेका छन् । 

गुल्मी दरवार गाउँपालिको शिवालय मन्दिरमा गौडाकोट तर्फबाट कांग्रेस कार्यकर्ता भनिएका हर्कबहादुर थापाले बोकेर  शिवालय मन्दिर भित्र लगेर लुकाएको अवस्थामा वामगठबन्धनका कार्यकर्ताहरुले प्रहरी वोलाएर वरामद गरेका हुन् ।  

त्यस मन्दिरमा पुगेका वामगठबन्धनका कार्यकर्ताले कांग्रेस कार्यकर्ता भनिएका थापाले चाँवी हरायो भन्दै मन्दिरको ढोका खोल्न नमाने पछि प्रहरी बोलाएर ढोका खोली दुई वोरा भित्र लुकाएर राखेको ४८ वटा शिलप्याक मदिरा वरामद गरिएको थियो । 

मदिरा वरामद स्थलमा उनै थापा संग टेलिफोन सम्र्पक राख्दा उनि वोल्न चाहेनन् तर उनले वामगठबन्धनका कार्यकर्ताहरु संग गौडाकोट स्थित तरुण  दलका पुर्व अध्यक्ष राजु कार्की , गुल्मी दरवार गाउँपालिका वडा नम्वर ३ का नेपाली कांग्रेसबाट विजयी वडा सदस्य रवि शाह लगायतले पठाएको आरोप लगाएका छन् । उनिहरु मध्ये तरुण दलका पुर्व अध्यक्ष कार्की संग पटक पटक फोन सम्पर्क राख्दा फोन उठाएनन् । 

 कांग्रेस कार्यकर्ता भनिएका थापालाई भने प्रहरीले मदिरा सहित पक्राउ गरेर लगेको  बताईएको छ । नाम मुछिएका व्यक्तिहरुले फोन न उठाए पछि मदिरा आफुहरुले पठाएको भनेर कांग्रेसजन कसैले पनि आधिकारिक जिम्मेवारी लिएका छैनन् ।

 तर  वामगठबन्धनले पनि मतदाताहरु  प्रभावित पार्नका लागि कांग्रेसले नै  ठाउँ  ठाउँमा मदिरा वितरण गर्दै आएको आरोप लगाएका छन् । स्मरण रहोस त्यसै गाउँपालिका अन्तरगत केहि दिन अघि निर्वाचन आचर संहिता लागे पछि पनि वलिथुममा नेपाली कांग्रेसका सभापति प्रेम पुनले वितरण गरेको खानेपानीको दुई रोल पाईप पनि वामगठबन्धनले वरामद गरेका थिए । 

अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि गुल्मी दरवार गाउँपालिकाको सिमानामा कांग्रेसले वितरण गरेको आरोप लगाउँदै नेकपा एमालेका कार्यकर्ताले  एक हजार मिटर पाईप नियन्त्रणमा लिएका थिए । तर पछि अर्को कुनै विकास निर्माणको विल पेश गरेर सोही गाउँलाई नै दिईएको थियो । आज  शिवालय मन्दिर  जस्तो पवित्र स्थान भित्रै मदिरा लुकाएर राख्नुलाई सर्वत्र निन्दा गरिएको छ । यस घटनालाई दुनियाँकै लज्जास्पद र चुनावी लडाईको  घृणित खेलका रुपमा लिईएको छ ।

- प्रतीकात्मक फोटो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!