समग्र देउखुरीको विकासका लागि मेरो उम्मेदवारी - चौधरी

Posted on: 04 Dec, 2017

सुशिला चौधरी

                                                                                                                                               नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरी—दाङ    

मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिदै छ । पहिलो चरणको निर्वाचन यही ११ गते सम्पन्न हुँदै छ भने दाङमा मंसिर २१ म निर्वाचन हुँदै छ । यसका लागि उम्मेदवारहरुको चुनावी रणनीति पनि तात्तिँदै गएको छ । यस्तै प्रतिस्पर्धामा देउखुरी क्षेत्र अर्थात निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धाका लागि पार्टीबाट टिकट पाउने एक्ली महिला सुशिला चौधरी हुन् । उनी नेपाली कांग्रेसबाट टिकट पाएपछि चुनावी मैदानमा छिन् । अन्य कुनै पनि राजनीतिक दलहरुले महिलालाई प्रत्यक्ष अर्थात प्रदेश सदस्यमा समेत उम्मेदवार बनाएका छैनन् । सबै महिलाहरुलाई समानुपातिकमा थन्क्याइएको छ । वचपनदेखि नै नसा–नसामा राजनीति रहेकी सुशिला सहिद परिवार सदस्य समेत हुन् । जिल्लामै एक्ली महिला उम्मेदवार सुशिला चौधरीसंग साझासबाल डटकमका दाङ जिल्ला सम्पादक सन्तोषकुमार गुप्ताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको सेरोफेरोमा रहेर गरेको कुराकानीको सारसंक्षेप - सम्पादक

सर्वप्रथम यहाँलाई हाम्रो साझासबाल डटकमको चुनावी भलाकुसारीमा स्वागत छ 

    धन्यवाद तपाई अनि लोकप्रिय अनलाईन साझासबाल डटकम परिवारलाई । मलाई चुनावी माहोलका विषयमा समसामयिक विषयवस्तुका विषयमा केही कुरा राख्ने अवसर दिनुभएकोमा । 

तपाईको चुनावी माहोल कस्तो देख्नुभएको छ, चुनाव जितिन्छ त ? 

    त्यो त हरेक मतदाताको दैलोमा गएर सोध्नुस्, सुशिला चौधरीको माहोल कस्तो छ भनेर । हामीले भनेको भन्दा पनि मतदाताले भनेको कुरा आम पाठकहरुले विश्वास गर्ने कुरा हो । चुनाव जित्नेमा मेरा थुप्रै आधारहरु छन् । यस अघि पनि मलाई यहाँका जनताले सविधानसभामा चुनाव जिताएकै हुन् । त्यसपछि मैले देउखुरी क्षेत्रमा गरेका विकास निर्माणका कुराहरु पनि तपाईहरुलाई भनिरहनु पर्दैन । सबै मतदातालाई सोधे हुन्छ, सिंचाई कुलाहरुलाई सोधे हुन्छ, कच्ची–पक्की सडकलाई सोधे हुन्छ, जनताको तटबन्ध कार्यक्रमलाई सोधे हुन्छ, लमही कोइलाबास सडकको पछिपरेको स्तरोन्नतिको प्रगतिलाई नियाले पनि थाहा हुन्छ, अनि समृद्ध देउखुरीका लागि मैले अघि सारेका चुनावी एजेण्डाहरु पढेर पनि मूल्याङ्कन गर्न सक्नुहुन्छ । त्यसैले म फेरी पनि दाङकाके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी हुनेमा ढुक्क छु । 

कस्तो छ चनावी माहोल ? 

    फिल्डमा आएर आफै हेर्नुहोला, मैले त्यति धेरै सायद भन्नु नपर्ला । तैपनि केही कुरा भन्नुपर्दा प्रचारप्रसार हिडिरहेको छु । नेपाली कांग्रेसका कार्यकर्तादेखि यहाँका देउखुरीवासीहरुले राम्रो साथ दिइरहनु भएको छ । म जन्मजात राजनीतिक व्यक्ति पनि हुँ । संघर्षपूर्ण राजनीतिक परिवारमा हुर्केसंगै नसा–नसामा राजनीतिको रगत बगेको छ । अर्को कुरा नेपाली कांग्रेसको चुनावी घोषणापत्र, विकास र समृद्धिको अभियान पनि मलाई चुनाव जिताउने आधारहरु हुन् । कसले बनायो राप्तीमा पुल, कसले ल्यायो जनताको तटबन्ध कार्यक्रम अनि देउखुरीमा सिंचाईका लागि प्रगन्ना सिंचाई र बड्का पथ सिंचाई परियोजना कसले ल्यायो ? सबै नेपाली कांग्रेसकै सरकारले ल्याएको हो । तर ती सबै परियोजनाहरुलाई अझै सार्थक र पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने छ । त्यसैले पनि मेरो उम्मेदवारी निरन्तरता हो । नेपाली कांग्रेसले जितेपछि मात्रै समृद्ध देउखुरीका यी सबै विकास निर्माणका योजनाहरुले अन्तिम स्वरुप पाउने छन् । 

तपाईका एजेण्डाहरु के–के हुन् ? 

    पहिलो कुरा त दाङलाई प्रदेश नं. ५ को राजधानी बनाउनको लागि पहिलो भूमिका हुने छ । वर्षोदेखि भोग्दै आएका देउखुरीवासीहरु राप्ती नदीलाई दुवैतर्फ तटबन्ध गरी खेतीयोग्य जमिन संरक्षण गर्दै हवाई मैदान, दुईतर्फ पक्की सडक निर्माण गरी सुकुमवासी समस्याको समाधानको योजना छ । प्रगन्ना सिंचाई योजनालाई विस्तार गर्ने, लमही–कोइलावास सडखण्डलाई छिटो निर्माण सम्पन्न गर्न विशेष पहल गर्ने, ग्रामीण सडक विस्तार, स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको एमविविएस डाक्टरको दरबन्दी कायम गर्न विशेष पहल गरिने, एक सय सैयाको सम्पूर्ण सुविधासम्पन्न सरकारी अस्पतालको व्यवस्था गरिने, प्राविधविक शिक्षालाई प्राथमिकतामा राख्दै सञ्चालनमा आइरहेका देउखुरी क्याम्पस, गढवा बहुमुखी क्याम्पस, ऐरावती बहुमुखी क्याम्पस बनाउन पहल गरिने छ । 

देउखुरी क्षेत्रमा रहेको अव्यवस्थित बसोवासको कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

    यहाँ धेरै अव्यवस्थित बसोवास नै छ । त्यसमा पनि भालुवाङमा अव्यवस्थित बसोवास छ । बसोवासलाई व्यवस्थित गराउनको लागि पहिलो कुरो त नीति–नियम बनाउनुपर्छ । त्यही अनुसार यहाँको अव्यवस्थित वस्तीलाई व्यवस्थापन गरिने छ । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले  पनि भालुवाङमै आएर यो बजारमा स्थानीयवासीलाई केही महिनाभित्रै लालपूर्जा दिने उद्घोष गरे, तर खोइ भालुवाङको स्वामित्व । अब नेपाली कांग्रेसले बहुमतको सरकार बनाएपछि भालुवाङको स्वामित्वसंगै अन्यत्र रहेका सुकुम्वासीहरुलाई पनि व्यवस्थित बसोवासका लागि हाम्रो पार्टी नेपाली कांग्रेसको विशेष प्राथमिकता हुने छ । त्यसका लागि हामीले सुकुम्वासीहरुलाई व्यवस्थापन गर्न रोडम्याप समेत बनाएको छौं । राप्ती नदी कटानलाई मात्रै व्यवस्थापन गर्नसके धेरै जमिन प्राप्त गर्न सकिन्छ । हामीले वन फडानी गरेर होइन, नदी नियन्त्रण गरेर प्राप्त जग्गामा सुकुम्वासीको  दीर्घकालीन व्यवस्थापन गर्दै छौं । हामी चाहन्छौं, वास्तविक सुकुम्वासीहरुले सुरक्षित आवास पाउनुपर्छ, त्यसको रोडम्याप हामीले बनाइसकेका छौं । 

अनि तपाईको क्षेत्रमा दर्जन बढी नाकाहरु छन्, नाकावासीहरुले विकासको अनुभूति गर्न पाएको अवस्था छैन, यो विषयमा तपाईका केही योजनाहरुका विषयमा भन्नुस् न ? 

    नाका क्षेत्रका सडकहरुको स्तरोन्नति गरेर भारत–नेपाललाई जोड्नुपर्छ । त्यसमा पनि लमही–कोइलावास सडकखण्डलाई छिटो निर्माण सम्पन्न गर्न विशेष पहलका साथै कोइलावास भन्सारलाई पूण सञ्चालनमा ल्याइने छ । नाका क्षेत्रमा सञ्चारका लागि टेलिफोनको टावर व्यवस्थापन तथा विद्युतिकरण गर्ने साथै नाका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न विशेष पहल गरिने छ । कोइलावास भन्सारलाई पूर्ण सञ्चालनमा ल्याइएको छ । हो कोइलावास भन्सार नाका अहिले सुनसान भएको छ । द्वन्द्वको समयदेखि कोइलावास भन्सार सुनसान भएको हो । अर्को कुरा पूर्वपश्चिम राजर्माग खुलेपछि नेपालगञ्ज र कृष्णनगर नाका चल्तीमा आए । कारण त्यहाँ पक्की सडक पुगेको छ । तर कोइलावास नाकालाई पक्की सडकसंग जोड्न केही ढिला भएको हो । तर ढिलै भए पनि सडक आसपासका जग्गाधनीहरुलाई मुआब्जा दिने प्रक्रिया शुरु भइसकेको छ । अब निर्वाचन सकिएलगत्तै सायद सडक स्तरोन्नतिको काम पनि शुरु हुन्छ । नाका शुरु नहुनुमा तत्कालीन माओवादी र राज्यबीच द्वन्द्व चर्किदा भन्सार सुनसान हुन पुगेको हो । त्यसपछि पनि गढवा र लमहीमा बजार सरेपछि सुनसान भएको हो । भन्सारलाई पुनः सञ्चालनको लागि लमही कोइलावास सडकखण्ड निर्माणको लागि पहल गर्नुपर्छ ।

 

तपाईका यी योजनाहरु मतदाताहरुले पत्याउँछन् त ?

    नेपाली कांग्रेसले कहिल्यै जनतालाई भ्रममा पार्ने कुरा गर्दैन । यो विषयमा तपाईलाई पनि थाहा छ । नेपाली कांग्रेसले जे भन्छ त्यो पूरा गरेको छ र गर्छ पनि । चुनावमा जनताको मत आफ्नो पक्षमा ल्याउनको लागि हावादारी असम्भव कुरा गर्दैनौं । जनताले पनि नेपाली कांग्रेसलाई विश्वास गर्छन । तपाईले घरदैलो कार्यक्रममै आएर हेरे हुन्छ, सबै मतदाता सकारात्मक हुनुहुन्छ । पहिले पनि साविक निर्वाचन क्षेत्र न.ं १ को प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भइसकेको छु निर्वाचन क्षेत्रमा त्यहाँका जनताको आवश्यकता अनुसार सडक, सिचाई शिक्षालगायत महिलाहरुको आर्थिक तथा क्षमता सशक्तिकरण लगायतका अन्य पूर्वाधारको कामहरु गरेको थिएँ । मेरो कामप्रति यहाँका मतदाताहरु सन्तुष्ट नै हुनुहुन्छ ।

अन्त्यमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ? 

    मंसिर २१ गते हुने निर्वाचन नेपाली कांग्रेसको लागि एउटा परिक्षा हो । हामी मैदानमा बाम गठबन्धनसंग भिड्दै छौं । हाम्रो पार्टी नेपाली कांग्रेस आफैमा बलियो र संगठित पार्टी हो । यदि हामीबीच कोही कसैले व्यक्तिगत स्वास्र्थ, व्यक्तिगत सम्वन्धका बारेमा मात्रै सोच्यो भने नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको जस्तै हार व्यहोनुपर्ने छ । यो पटक हा¥यो भने नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरेको सविधानको कार्यान्वयन हुन सक्दैन र लोकतन्त्र बचाउन सकिदैन । यो निर्वाचन नेपाली कांग्रेस क्षेत्र नंन १ को प्रतिनिधिसभा सदस्य सुशिला चौधरीको मात्रै नभएर समग्र नेपाली कांग्रेसको निर्वाचन हो । नेपाली जनताको निर्वाचन हो । रुखमा भोट हालेर नेपाली कांग्रेसलाई विजय गराउन अनुरोध गर्दछु । र अन्त्य महिला दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने दाङबाट प्रतिनिधि सभामा एक जना मात्रै महिला उम्मदेवार नेपाली कांग्रेसले उठाएको छ । यो निर्वाचनमा मैले हारें भने आम महिलाले हार्नु सरह हो । किनभने महिलाहरु निर्वाचन जित्न सक्दैनन् भनेर प्रमुख पदमा उठ्न दिँदैनन् । मैले हारे भने अन्य महिलाहरुलाई पनि कुनै पनि निर्वाचनमा उठ्नको लागि मुस्किल पर्छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!