दाङको मतगणना दुई दिनमै सक्ने तयारी

Posted on: 05 Dec, 2017

मङ्सिर १९, दाङ (रासस) | मंसिर २१ गते हुन लागेको चुनावको मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी थालिएको छ । 

यसपटकका जिल्लाको सबै मतगणना घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविमा गरिनेछ । विद्यालयमा रहेका तीन अलगअलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलगअलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ । 

मतगणनास्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाइलगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधिसभाका तीनवटा र प्रदेशसभाका लागि छ वटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ । 

बिहीबार बेलुका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यसै दिनको रातिबाट मतगणना थाल्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो । 

मतगणना शुरु भएको ४८ घण्टाअर्थात दुई दिनभित्र सबै परिणाम सार्वजनिक गर्ने गरी आफूले तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!