कञ्चनपुरमा पनि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

Posted on: 07 Dec, 2017

भास्कर केसी/मङ्सिर २१, कञ्चनपुर । कञ्चनपुरमा आज विहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म शान्तिपूर्ण तबरले मतदान सम्पन्न भएको छ ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कञ्चनपुर जिल्लामा करिब ६५ देखि ६८ प्रतिशत जति मतदान भएको प्रारम्भिक जानकारी दिनुभएको छ । 

उहाँले मतपेटिका संकलनको कार्य जारी रहेकोले मतगणना भोली विहानबाट मात्र सुरु गरिने जानकारी दिनु भयो । आज राति ११ बजेसम्म कञ्चनपुर जिल्लाका सबै ठाउँहरुबाट जिल्ला सदरमुकाम महेन्द्रनगरमा मतपेटिका जम्मा गरेपछि भोली विहानबाट मतगणना गरिने उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुर जिल्लाका ३ जना प्रतिनिधि सभा सदस्यका लागि र ६ जना प्रदेश सभा सदस्यका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा होमिनु भएको थियो । जसमध्ये आज भएको मतदानबाट कञ्चनपुरका ९ जना उम्मेदवारहरुको भाग्य मतपेटिकाहरु भित्र सुरक्षित रहेको छ । 

१ सय ३२ निर्वाचन स्थलका ३२० मतदान केन्द्रमा २ हजार ५६० कर्मचारी खटिएका थिए भने सबै निर्वाचन केन्द्रमा १ हजार २८० स्वमसेवक समेत खटिएका थिए ।

निर्वाचनका लागि स्थानीय प्रशासनले कञ्चनपुरमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दले जिल्लाभरी कुनैपनि स्थानमा अप्रीय घटना घट्न नपाएकाले यो निर्वाचन हालसम्मकै शान्तिपूर्ण वातावरणमा सुसम्पन्न भएको दाबी गर्नुभयो । 

मतदान पछि पनि मतपेटिका संकलन देखि मतगणना सम्मका सबै कार्यहरु सम्पन्न गर्न कञ्चनपुर प्रहरी र सबै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!