सर्लाहीमा साँझ ५ बजे बाट मतगणना सुरु हुने

Posted on: 08 Dec, 2017

सरोज यादव | मङ्सिर २२, सर्लाही | सर्लाहीमा सर्वदलिय वैठक सकिएको भए पनि मतगणनास्थलको व्यवस्थापनमा ढिलाई भएकोले साँझ ५ बजे बाट मात्रै मतगणना सुरु हुने विश्वस्त स्रोतले बताएको छ । सर्लाहीमा क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको हलमा गणना गर्ने तयारी भई रहेको छ भने क्षेत्र नम्बर १,३ र ४ को सर्लाही क्याम्पस भवनमा गणना गर्ने व्यवस्था भई रहेको छ । 

मतगणना हुने समय हेर्दै अहिले मलंगवामा सयौंको संख्यामा दल र उमेदवारका समर्थकहरु मतगणना स्थल वरपर गफिएर बसेका छन् । उमेदवारहरु आफैले जित्ने दावी गरिरहेका छन् भने विश्लेषकहरु भने मुख्य दलहरुवीच नै कडा प्रतिष्पर्धा हुने बताउँछन् । सर्लाही क्षेत्र नम्बर १ मा काँग्रेसबाट पशुपंक्षि विकास राज्य मन्त्री शम्भुलाल श्रेष्ठ, बाम गठबन्धनबाट एमालेका ध्रुव गौतम, राजपाबाट प्रमोद साह वीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । 

त्यस्तै क्षेत्र नम्बर २ मा राजपाका महिन्द राय यादव, काँग्रेसका जंगीलाल राय, बामगठबन्धका दिनेश राय बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा गठबन्धनका रामेश्वर राय, काँग्रेसका हरेस महतो र स्वतन्त्र उमेदवार नरेन्द्र साह विच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । त्यस्तै क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका शिवपुजन रायको उमेदवारी खारेज भए पछि राजपाका राकेश कुमार मिश्र र काँग्रेसका अमरेश कुमार सिंहवीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

यो चुनावी नतिजामा कुन पार्टीको कति सीट आउला भन्ने जान्न यहाँका नागरीक आतुर भएका छन् । कुल ३ लाख ८५ हजार ५ सय ८१ मतदाता रहेको सर्लाहीमा २०८ जनाको भाग्य बाकसमा कैद भएको छ । कस्ले बाजी मार्ला भन्ने विषय भने मतगणना सुरु हुनासाथ संकेत देखिन थाल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!