चितवन १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजयी

Posted on: 11 Dec, 2017

मङ्सिर २५, चितवन । जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । 

पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गर्नुभएको छ । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गर्नुभएको हो । सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो । 

यस्तै चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चितवन क्षेत्र न ३ प्रदेशसभा (१) मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले २३ हजार ४११ मत प्राप्त गर्दा उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कोइराला २१ हजार ३६५ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै प्रदेशसभा (२) मा माओवादी केन्द्रका रामलाल महतो विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गर्नुभएको छ । महतोले २५ हजार ६१ मत प्राप्त गर्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गर्नुभएको थियो । 

मतअन्तर बढाउँदै दाहाल 

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतअन्तर बढाउँदै जानुभएको छ । 

उहाँले अहिलेसम्म गणना भएको ६८ हजार ५९२ मतमध्ये ३६ हजार ५७७ प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २७ हजार १११ मत प्राप्त गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!