बिक्रम पाण्डेलाई पराजित गर्दै माओवादी अध्यक्ष प्रचण्ड बिजयी

Posted on: 11 Dec, 2017

मङ्सिर २५ , काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका हुन् |

वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् । 

प्रचण्डले अग्रता अनुसार बिक्रम पाण्डेमाथि बिजय प्राप्त गरिसकेका छन् । उनले यस अघि २०६४ र २०७० को निर्वाचनमा जित्दै अहिले चितवन-३ बाट तेश्रो जित दर्ता गरेका हुन् । 

को हुन्, पुष्प कमल दाहाल 'प्रचण्ड' ?  

पुष्पकमल दाहाल 'प्रचण्ड'को जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । उनि मुक्तिराम दाहाल र भवानी दाहालका छोरा हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका प्रचण्डको शैक्षिक योग्यता  कृषि तथा पशु विज्ञानमा स्नातक रहेको छ । उनको राजनीतिक जीवन ४२ वर्षको हो । राजनीतिमा आउनु अघि उनले झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गरेका थिए । २०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन(चौम)मा प्रवेश गरेका थिए । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसंघको अध्यक्ष बने । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बनेका उनि २०४२ मा पार्टी विभाजनपछि मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बने । त्यस यता जनयुद्ध हुँदै जनआन्दोलन हुँदै दुई पटकसम्म प्रधानमन्त्री बनेका छन् । २०४६ देखि नै उनले माओवादीको नेतृत्व सम्हाल्दै आएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!