समानुपातिकको आधा मत गन्दा पाँच दलले मात्र थ्रेसहोल्ड कटाए, दुई दलको सम्भावना

Posted on: 13 Dec, 2017

अनिल अधिकारी | मङ्सिर २७, काठमाडौँ | समानुपातिक मतगणना जारी रहंदा देशभरबाट खसेको आधा समानुपातिकको मत गणना सम्पन्न भईसकेको छ | 

पछिल्लो अपडेट अनुसार मतगणनाको दलगत स्थितिलाई हेर्दा अहिलेसम्म ५ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् जसमा पहिलो नम्बरमा एमाले, दोश्रोमा कांग्रेस, तेश्रोमा माओवादी केन्द्र रहेका छन् | 

समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो । यो समाचार तयार गर्दासम्ममा झन्डै ५३ लाख मतगणना भईसकेको छ | कुल खसेको समानुपातिक मत अनुसार मुख्य तीन दललाई समानुपातिकमा थ्रेसहोल्ड कट्दैनकि भन्ने चिन्ता छैन | तर अहिलेसम्म थ्रेसहोल्ड काटेका थप दुई मधेसी दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको थ्रेस होल्ड कटिसकेको भएपनि अझै आधा मत गन्न बाँकी रहँदा थ्रेसहोल्ड सुरक्षित छ भनिहाल्ने अवस्था छैन | यदी अन्य दलको मत बढ्दै जाने र उसको स्थिर बनेको अवस्थामा उसको थ्रेसहोल्ड नपुग्न पनि सक्छ | सामान्यत: कुल समानुपातिकमा ३% मत बदर भएमा थ्रेस होल्ड सुरक्षित हुन करिब ३ लाख भन्दा केहि बढी मत कटाउनुपर्ने हुन्छ | 

संघीय फोरमले अहिलेसम्म २ लाख २७ हजार मत पाईसकेको अवस्थामा उसले अब आधा गनिने मतमा निश्चित थ्रेसहोल्ड कटाउने सम्भावना छ | त्यस्तै राजपाले पनि अहिलेसम्मको आधा मतमा ३% कटाईसकेको र अब गनिने मतमा पनि मत बढाएको अवस्था वा ३ लाख भन्दा केहि बढी मत पाईसकेको अवस्थामा समानुपातिक सिट लिने निश्चित देखिन्छ |

अहिलेसम्मको स्थिति हेर्दा अन्य साना दलको स्थिति भने सहज छैन | आधा मत गन्दासम्म आधाको पनि ३% नपुर्याएका दलहरुलाई अबको आधा मत गन्दा थ्रेसहोल्ड काट्लान भनेर आंकलन गर्न सहज छैन |  सम्भावनाको कुरा गर्ने हो भने अहिलेसम्म गनिएको मतमा २ प्रतिशत बढी मात्रै मत पुर्याउन सक्ने दलको पनि थ्रेसहोल्ड कटाउने सम्भावना छ | जसमा राप्रपा र विवेकशील साझाको थ्रेसहोल्ड काट्ने सम्भावना देखिन्छ | त्यस बाहेक अन्यको अहिलेसम्मको परिणाम अनुसार सम्भावना छैन  | आधा मत गनिसक्दा पनि १ लाख मत पनि नपुर्याउने दलहरुले अब ३ लाख भन्दा बढी मत कसरी पुर्याउन सक्लान ? राप्रपा र विवेकशीलले समेत आफ्नो मत यस अघि गनिएको भन्दा केहि बढी बढाउनुपर्ने हुन्छ | राप्रपाको पकड क्षेत्र गन्दा राप्रपाले केहि मत बढाउन सक्छ भने काठमाडौँको सबै मत गन्दासम्म विवेकशीलले समानुपातिकमा आफुलाई केहि माथि उठाउन सक्ने देखिन्छ | तर अहिलेकै स्थितिमा मत बढे राप्रपा र विवेकशीलको पनि सम्भावना छैन | यसो भएमा तीन ठुला दल र मधेसी दलले मात्र समानुपातिक सिट पाउने अवस्था छ |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!