खोटाङमा नगरको कार्यालय यथास्थानमै राख्न चार वडाध्यक्षको माग

Posted on: 02 Jan, 2018

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय यथास्थानमा राख्न चार वडाध्यक्षले माग गरेका छन् । 

मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा ज्ञापनपत्र पठाउँदै हाल दुर्छिमस्थित छापडाँडामा रहेको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय यथास्थानमा राख्न नगरपालिकाका ११ वडाध्यक्षमध्ये डिकुवा, च्यास्मीटार, दुर्छिम र महादेवस्थानका वडाअध्यक्षले माग राखेका हुन् । 

नगरबासीका लागि अपायक हुने र किरातीको ऐतिहाँसिक एबं पर्यटकीयस्थल होलेसुङ र रावाचुङ्गढीको संरक्षण र प्रवद्र्धनमा समेत अशर पुग्ने भएकाले नगरपालिकाको कार्यालय कोटगैरामा राख्न नहुने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले बताउनुभयो । 

छापडाँडामा रहेको नगर कार्यालयलाई कोटगैरामा सार्ने निर्णयप्रति असहमती जनाउँदै चार वडाध्यक्षले पुस ६ गते विज्ञाप्तीमार्फत ध्यानाकर्षण गराएका थिए । 

नगर कार्यपालिकाको पुस ५ गतेको बैठकले छापडाँडामा रहेको नगर कार्यालयलाई कोटगैरामा सार्ने निर्णय गरेको थियो । 

एमाले, माओबादी केन्द्र र संघीय समाजबादी फोरम नगर कमिटिले पनि पुस १४ गते ज्ञापत्रपत्र बुझाउँदै नगर कार्यालय अन्यत्र नसार्न ध्यानाकर्षण गराएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!