दार्चुलामा ‘बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक’

Posted on: 06 Jan, 2018

पुस २२, दार्चुला । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले दार्चुलाको व्यास क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

महाकाली नदी नियन्त्रण आयोजना र कृषि कार्यालयद्वारा सञ्चालित योजनाहरुको अनुगमन निरीक्षणमा दार्चुला पुग्नुभएका राज्यमन्त्री पुनले यहाँ आयोजित पत्रकार सम्मेलन सो कुरा बताउनुभएको हो । 

त्रिदेशीय सीमा नाका जोडिएको व्यासमा बाह्रै महिना सुरक्षाकर्मी बस्न सक्ने व्यवस्था मिलाउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

मन्त्री राज्यपुनले आजै महाकाली नदी किनारमा निर्माणाधीन पक्की तटबन्धको निरीक्षण गर्दै भारतको खोतिलाबाट आएको सुख्खा पहिरोका कारण नेपालतर्फको ६० मिटर पक्की तटबन्ध भत्किएको ठाउँमा पुनः ठेक्का सम्झौता गरी तत्काल निर्माण कार्य थालनी गरिनेसमेत बताउनुभयो । 

तटबन्ध निर्माणका लागि बजेटको कुनै समस्या नभएको बताउँदै उहाँले महाकाली नदी किनारमा निर्माण भइरहेको पक्की तटबन्ध राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्नुभयो । 

यसैगरी उहाँसँगै जिल्ला भ्रमणमा रहनुभएकी कृषि राज्यमन्त्री सरिता प्रसाईंले सरकारले कृषकलाई दिँदै गरेको अनुदान रकम वास्तविक कृषकसम्म पुग्न नसकेको बताउनुभयो । दार्चुला जिल्ला मकै उत्पादनमा आत्मनिर्भर भएको समेत उहाँले उल्लेख गर्नुभयो । 

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले स्थानीय जनतासँग अन्र्तक्रिया र स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!