तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

Posted on: 17 Jan, 2018

माघ ३, काठमाडौँ । नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

आज पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । 

उहाँले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न गरिएको ढिलाइले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुने भएकाले तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोकी राष्ट्रियसभा निर्वाचनको मिति तय गर्न माग गरिएको बताउनुभयो । 

कामचलाउ हैसियतको सरकारले नयाँ दरबन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने काम रोक्नुपर्नेमा बैठकले जोड दिएको भट्टराईले बताउनुभयो । 

बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन गरी पठाउँदा विशेष ध्यान दिन मातहतका कमिटीलाई निर्देशनसमेत दिएको छ । “राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पु¥याएका पार्टीका नेता तथा कार्यकर्तालाई छनौट गर्न मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेका छौँ” उहाँले भन्नुभयो– “प्रदेशबाट सिफारिश मागेका छौँ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय भूगोल, क्षेत्र र समुदाय छुटेका छन् तर अब राष्ट्रियसभाको निर्वाचनमा त्यस्तो नहोस् भनेर तल्लोतहबाटै विशेष ध्यान दिई सिफारिश गर्न भनेका छाँै ।” 

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेसम्बन्धमा सरकारले आफ्नो दलसँग सल्लाह नगरेको उहाँले बताउनुभयो । पार्टी कार्यालय धूमबाराहीमा कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सो बैठक बसेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!