प्रदेशसभाका २२० समानुपातिक सांसदलाई आयोगले दियो प्रमाणपत्र

Posted on: 19 Jan, 2018

माघ ५, काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । 

आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । 


प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित हुनुभएको हो । 

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल हुनुहुन्छ । 

उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए । 

त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ । 

पाँच सय ५० सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैँजू हुनुहुन्छ भने सबैभन्दा बढी उम्मेरका नेपाली काँग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका निर्वाचित हुनुभएको छ । 

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भई जनप्रतिनिधिको चयन भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!