राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक

Posted on: 23 Jan, 2018

माघ ९, काठमाडौँ  | वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् । 

नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताउनुभयो । ठोस सहमति भएमा गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने भएको छ । 

एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेताबीचको सो छलफलपछि समग्र मुलुकमा एमाले र प्रदेश नं २ मा मधेशी दललाई नेतृत्व गर्न प्राप्त जनादेशबमोजिम अघि बढ्न छलफल गरिएको थियो । 

माओवादी केन्द्रका नेता मातृका यादवले विस्तृत छलफलका लागि आफूहरुको आजै अपराह्न ३ बजे बैठक पुनः बस्ने जानकारी दिनुभयो । बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!